‘करुणा’: सहनशीलताकी सतिसालको सबाइ, विषाक्त सोचको दबाइ

म आफूलाई मनपर्ने विषयमा लेखिएका पुस्तकको एक आज्ञाकारी पाठक हुँ । राजनीति, इतिहास र प्रेरणादायी व्यक्तिका आत्मकथा रुचिअनुसार खोजेरै, किनेरै पढ्छु । पढेर ज्ञान लिने वा जानकारी लिनेबाहेक आफूलाई मन परेका लेखकले लेखेका पुस्तकको बारेमा ४ लाइन लेख भनेर कसैले भन्यो भने पनि मलाई सकस हुन्छ ।

कारण के भने म लेखक त हुँदै होइन र अब सम्भवतः त्यो लाइनमा जान पनि सक्दिनँ । त्यसका साथै म समीक्षक पनि होइन । हलमा सिनेमा हेरेर बाहिर निस्किँदा कथावस्तु र पात्रको बारेमा रिभ्यु दिन नजान्ने म जस्ता पाठक वा दर्शकले किताब र सिनेमाको समीक्षा गर्न सम्भव छैन ।

अघिल्लो साता गाउँबाट काठमाडौं आउने मेरो मुख्य उद्देश्य मेरो प्रेरणाको स्रोत र मेरो वास्तविक अभिभावक आमा राधिका शाक्यको प्रकाशोन्मुख पुस्तक ‘करुणा’को विमोचन कार्यक्रमको व्यवस्थापन आदि विषयमा सघाउन थियो ।

स्थानीय सरकारको जनप्रतिनिधि भएपछि आफूले चाहेर पनि काठमाडौंका महत्वपूर्ण भेटघाट बैठकहरूमा भाग लिन नपाइने बाध्यताबीच म आमाको पुस्तकको व्यग्र प्रतीक्षामा थिएँ । ओखलढुंगाको सुदूरपश्चिमी लिखु किनारामा बसेर करुणा पढ्दा यो पुस्तक राधिका शाक्यको आत्मकथा नभएर नेपालको ऐतिहासिक दस्तावेज हो भन्ने निष्कर्षमा पुगेँ ।

मैले अघि नै उल्लेख गरिसकेकी छु, म समीक्षा गर्नसक्ने क्षमता भएको मान्छे होइन । सिनेमा हेरेर कथावस्तुको चरित्र चित्रण गर्न नसक्ने र पुस्तक पढेर त्यसको आलोचनात्मक विश्लेषण गर्न नसक्ने म जस्ता एकसरो पाठकका लागि ‘करुणा’माथि विवेचना गर्ने कुरा धेरै परको हो, तर ‘करुणा’ले मभित्रको भावना पोखिदियो ।

पुस्तकमा राधिका शाक्यले पञ्चायतकालीन कठिन समयको साक्षीका रूपमा धेरै घटनाक्रमको सिलसिला जोड्नुभएको छ । राजाको शासनमा रामराज्य थियो भन्ने अहिलेका कतिपय राजावादीहरूले ‘करुणा’ पढेपछि त्यो बेलाको क्रूर शासनसत्ताको सजीव चित्रण हुन्छ ।

‘करुणा’ पढेपछि पोखिएको भावनालाई सँगालेर टिपिएका केही बुँदाहरूको संश्लेषणात्मक लेखोट समीक्षा भने होइन । ‘करुणा’माथिको पुस्तक समीक्षा नभएर एक सहनशील सतिसाल अनि करुणाकी खानी राधिका शाक्यको सम्मानका लागि केही शब्द लेख्दैछु । पत्रकार तथा लेखक राजेश राईले भने जस्तै ‘करुणा’ आँसुले लेखिएको इतिहासको दस्तावेज हो ।

यो पुस्तकमा राधिका शाक्यले पञ्चायतकालीन कठिन समयको साक्षीका रूपमा धेरै घटनाक्रमको सिलसिला जोड्नुभएको छ । राजाको शासनमा रामराज्य थियो भन्ने अहिलेका कतिपय राजावादीहरूले ‘करुणा’ पढेपछि त्यो बेलाको क्रूर शासनसत्ताको सजीव चित्रण हुन्छ । त्यसमाथि राधिका शाक्यहरू जस्ता काठमाडौंका रैथाने नेवारका छोरीहरूले नेपालका कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा गरेका योगदानसमेत ‘करुणा’बाट अनुमान गर्न सकिन्छ ।

राधिका शाक्यलाई चिन्ने, देख्ने र नजिकबाट संगत गर्नेहरूले मात्र होइन, सर्वसाधारण जो सकारात्मक सोच राख्छन्, उनीहरूको नजरमा करुणाकी स्राेत, एक आदर्श महिला हुनुहुन्छ । मानव सेवा आश्रम र अन्य सामाजिक संस्थाहरूमार्फत हजारौं अनाथ बालबालिका र असहायहरूले पाएको नयाँ जीवन देखेकाहरूका लागि राधिका करुणाकी खानी हुनुहुन्छ ।

प्रधानमन्त्री भएका र पार्टीको माथिल्लो तहमा पुगेका नेता र मन्त्री बनेका धेरैका पत्नीहरूको जीवनशैली परिवर्तन भएको देख्नेहरूका लागि राधिका शाक्य एक फरक उदाहरण पनि हुनुहुन्छ । सधैं लो-प्रोफाइल जीवन बिताउने राधिकाको साथ, सहयोग र समर्पणकै कारण देशले राजनेता केपी शर्मा ओलीको नेतृत्व पाएको छ ।

‘करुणा’ पढेपछि राधिका शाक्य र केपी ओलीले भोगेको भौतिक कठिनाइमात्र होइन, राजनीतिक षड्यन्त्रका निकै कष्टकर समयहरू भेटिन्छन् । केपी शर्मा ओलीको राजनीतिमात्र होइन, भौतिक जीवन जोगाउन सहयोग गर्ने धेरै सहयोद्धाहरूको स्मरण गर्दा पनि राधिका शाक्यको भूमिका ती सबैभन्दा बलियो थियो भन्ने पुस्तक पढेपछि मैले महसुस गरेँ । मेरो जस्तै बुझाइ अरुको नहुन पनि सक्छ, तर राधिकाविनाको आजको केपी शर्मा ओलीको कल्पना गर्न सकिन्न ।

राधिका शाक्यलाई चिन्ने, देख्ने र नजिकबाट संगत गर्नेहरूले मात्र होइन, सर्वसाधारण जो सकारात्मक सोच राख्छन्, उनीहरूको नजरमा करुणाकी स्रष्टा, एक आदर्श महिला हुनुहुन्छ ।

घरबार, ठाउँ, ठेगान र जागिर व्यवसाय केही नभएको एक प्रकारको सर्वहारा केपी शर्मा ओलीसँग त्यो जमानामा अन्तरजातीय बिहे गर्न तयार हुनु राधिका शाक्यको सानोतिनो विद्रोह थिएन । ‘करुणा’ पढेपछि राधिका शक्य सहनशीलताकी सतिसाल, करुणाकी खानीमात्र होइन, समाज परिवर्तनकी एक निडर विद्रोही हुनुहुन्छ भन्ने प्रतीत हुन्छ ।

राधिका शाक्यको ‘करुणा’भित्र करिब ५० वर्षको इतिहासको बकपत्र छ । यो पञ्चायत, बहुदल र गणतन्त्र तीन व्यवस्थाभित्रका रोचक-घोचक घटनाक्रम र सत्य घटनामा आधारित कथाहरूको ऐतिहासिक दस्तावेज पनि हो । राधिकाको आँसुले लेखिएका हरफहरू पढ्दा म जस्ता पाठकहरू आँसुले भिज्नुपर्ने धेरै प्रसंगहरू उल्लेख भएका छन् ।

नेपालको ५० वर्षको राजनीति तथा समाज परिवर्तनको आन्दोलनका एक अगुवा केपी शर्मा ओलीका सबै आरोह-अवरोहको साक्षी भएका कारण पनि करुणा इतिहासको विश्वसनीय दस्तावेज हो । ‘करुणा’ राधिकाको आत्मकथामात्र होइन, ऐतिहासिक सत्य घटनाहरूको सँगालो पनि भएकाले केपी शर्मा ओली मन नपराउनेहरूले पनि पढ्दा घाटा हुन्न ।

राधिका शाक्यको बुबा पाटनको महापालको सिलाई घरमा कल घुमाइरहेको बेला भामा दिदीले ‘छोरीलाई किन स्कुल नपठाएको भन्ने प्रश्नबाट आफ्नो पढाइ जीवन शुरु भएको कुरा उहाँले नलुकाइ वर्णन गर्नुभएको छ । २०३६ देखि २०६८ सालसम्म नेपाल राष्ट्र बैंकको उच्च पदमा पुग्दाका प्रसंगहरूसँगै धेरै प्रेरणादायी किस्साहरू समेटिएका छन् ।

अघि नै भनिसकियो, ओलीसँगको बिहे राधिकाको विद्रोह पनि थियो । त्यो विद्रोही बिहेमा उनको ‘बा’को केही असहमति रहेको प्रसङ्ग पनि ‘करुणा’मा उल्लेख छ । राधिका आमाले पुस्तकमा लेखेको र मेरो मनमा गडेको अर्को भावनात्मक कुरा भनेको ‘मेरो जीवनका सबैभन्दा महत्वपूर्ण दुई पुरुष मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएकी थिएँ, अनि केपी सर, जोसँग म अन्मिएकी थिएँ । कति सोझो तर प्रस्ट कुरा ।

केपी शर्मा ओलीको राजनीतिमात्र होइन, भौतिक जीवन जोगाउन सहयोग गर्ने धेरै सहयोद्धाहरूको स्मरण गर्दा पनि राधिका शाक्यको भूमिका ती सबैभन्दा बलियो थियो भन्ने पुस्तक पढेपछि मैले महसुस गरेँ ।

अझ आँसु थाम्नै नसकिने प्रसंग चाहिँ राधिका शाक्य लेख्नुहुन्छ- ‘मेरा बाको हात चलुञ्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरो बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडामात्र नभएर ज्वाइँ-ससुराबीच सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिँदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।’

एक असल अभिभावकको अनुभूति

राधिका शाक्यविनाको केपी शर्मा ओली कल्पना गर्न सकिन्न भन्छन् मान्छेहरू । धेरै हदसम्म त्यो सत्य हो । मेरो र म जस्ता धेरै एमाले कार्यकर्ताको अनुभूति अझ गहिरो छ । उहाँ जसरी केपी शर्मा ओलीको खानपानदेखि सुत्ने, उठ्ने समयको रखवाला हुनुहुन्छ, त्यस्तै देशभरिका आफूसँग संवादमा रहेका कार्यकर्ताको चासो राख्ने एक असल अभिभावक पनि हुनुहुन्छ ।

तीन वर्षअघि स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष उम्मेदवार बनेर गाउँ जाँदा म एकप्रकारले आत्तिएकी थिएँ । आफ्नो भन्ने कोही छैन जस्तो पनि लाग्थ्यो । त्यस्तो अत्यासलाग्दो क्षणमा आमाले राति ११ बजे पनि फोन गरेर के कस्तो हुँदैछ, आफ्नो स्वास्थ्यको ख्याल गर्नु, जित–हार राजनीतिमा सामान्य हो भनेर ढाँडस दिनुहुन्थ्यो ।

चुनाव जितेपछि उहाँले खुसी भएर फोन गरेको क्षणदेखि सार्वजनिक कार्यक्रममा लगाउने सारी छ कि छैन भनेर दराज खोतलेको क्षणले पनि असल अभिभावकत्वको अनुभूति दिएको थियो । मलाईमात्रै होला भनेको, पछि बुझ्दै जाँदा उहाँले देशभरका धेरै कार्यकर्तालाई यस्तै अभिभावकत्व दिनुभएको रहेछ । ‘करुणा’ पढ्दै जाँदा यस्ता कतिपय सन्दर्भ पनि सम्झिन बाध्य भएँ ।

घृणाको सञ्जालमा राधिकाको सोसल अडिट

यो समाजमा नकारात्मक सोच बोक्ने मुठ्ठीभर मान्छेको विषाक्त भिडभन्दा टाढा सकारात्मक सोचका लाखौं मान्छेहरू छन् । उनीहरू सामाजिक सञ्जाल र भाइरल प्रचारभन्दा निकै पर छन्, जसको एक प्रतिनिधि पात्र हुनुहुन्छ राधिका शाक्य । राधिका जस्ता सहनशीलताका सतिसालले समेत समाजका भाइरसहरूका लाञ्छनाको स्पष्टीकरण दिनुपर्छ भने आममहिलाको अवस्था कहाँ होला यो समाजमा ?

राधिका शाक्यविनाको केपी शर्मा ओली कल्पना गर्न सकिन्न भन्छन् मान्छेहरू । धेरै हदसम्म त्यो सत्य हो । मेरो र म जस्ता धेरै एमाले कार्यकर्ताको अनुभूति अझ गहिरो छ ।

पुस्तक विमोचन समारोहमा आमा राधिकाले आफ्नो रगत पसिनाको कमाइबाट बनाएको बालकोटको २ तले घरको बारेमा समेत स्पष्टीकरण दिनुपरेको क्षण सीताको अग्निपरीक्षा जस्तै लाग्यो मलाई । नेपाल राष्ट्र बैंकको उच्च तहको जागिरबाट अवकाश पाएका मान्छेको लागि बालकोट होइन, बालुवाटारमै आलिसान घर किन्न सक्ने वैधानिक कमाइ र सुविधा पाइन्छ भन्ने कसलाई थाहा छैन ?

राष्ट्र बैंकका सुरक्षा गार्डदेखि कार्यालय सहयोगी र श्रेणीविहीन कर्मचारीले समेत घरपरिवार चलाउन पर्याप्त सुविधा पाउँछन् । राधिका शाक्य त त्यो जमानामा अधिकृत तहबाट जागिर खाएकी महिला, त्यसमाथि ललितपुरकै रैथाने । केपी शर्मा ओली र राधिका शाक्यले अलिकति पनि हात फैलाउँदा त्यो बेला बालकोटको स्याल कराउने पाखोमा होइन, बालुवाटार र महाराजगञ्जका उहिल्यै विकसित शहरमै आलिसान बंगला पाउँथे ।

तर केपी शर्मा ओलीको विरोधमा तिलको गेडा खोजेर हिँड्ने घृणाको गिदी भएकाहरूले उठाएका तुच्छ प्रश्नको समेत आज राधिका आमाले जवाफ दिनुपरेको छ । आज राधिका शाक्यले ‘करुणा’ पुस्तकभित्र मात्र होइन, विमोचन समारोहमा समेत सोसल अडिटका लागि आह्वान गर्दा कुण्ठा र घृणाका व्यापारीहरू नाजवाफ भएका छन् ।

अन्तमा, ‘करुणा’ पढेपछि राधिका शाक्यले पुस्तकमा नलेखेको, तर दिन खोजेको सन्देश एक वाक्यमा भन्दा कृतघ्नहरूको वर्तमानलाई स्पष्टीकरण दिएर अमूल्य समय खेर नफाल, बरु भविष्यको लागि प्रेरणादायी इतिहास हुने एउटा अमर दस्तावेजको तस्बिर कोर, जुन इतिहासले युग युगान्तर सम्झिरहनेछ ।

पुस्तकको नाम : करुणा
प्रकाशक : पाणिनि बुक्स
मूल्य : रु.५९५/-
पृष्ठ : ३०२

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *