भोजपुर । भोजपुर नगरपालिका-१२ पारपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेको छ । अहिलेसम्म आगलागीबाट पैँयापानीमा ७ वटा घरमा क्षति भएको छ ।
आगोले कालीदास चापागाईँको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईँको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबहादुर कार्कीको घर र पाली जलेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वार्टर टक्सारले जनाएको छ ।
दिउँसो साढे १२ बजेबाट आगो बस्तीमा पसेको थियो । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको भोजपुरका डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहे पनि निभाउन नसकिएको उनले सुनाए । हावाहुरीका कारण बस्ती जोगाउन समस्या भएको उनको भनाइ छ ।
सोमबार बिहान साढे ९ बजेतिर टङङे डाँडाको इनामे सामुदायिक वनबाट डढेलो सुरू भएको थियो । अहिले प्रहरी, सेना र एपीएफको टोली त्यस क्षेत्रमा खटिएको छ ।

Leave a Reply