यो शीर्षकमा लेखिरहँदा न कुनै धर्मप्रति अनास्था वा विरोध गर्न खोजिएको हो न त अमूक धर्मको पक्षपोषण ! यो सन्दर्भ चर्चा गर्नुपर्ने दुई घटनाक्रम छन्, जहाँ राज्यका उच्चपदस्थ, अझ भनौं सत्ताधारीहरूको धर्मान्धता र संविधानविरोधी हर्कतबारे चर्चा गर्न खोजिएको हो । यसका सन्दर्भमा दुई घटना उल्लेखनीय छन् । एक- गणतन्त्र र धर्मनिरपेक्ष राज्यका सांसदहरू सहभागी भएर हिन्दू धर्म र राजतन्त्रका नाममा योगी आदित्यनाथको फोटो प्रदर्शनी । दुई- नेपाल हिन्दू राज्य बनाइछाड्ने अभियानमा रहेका भारतीय संस्थापन नजिक मानिने बाबा श्री १००८ कालीबाबाको पूर्वी पहाडको भ्रमण र राज्यका निकायको भूमिकामाथि टिप्पणी गर्न खोजिएको हो ।
सतही तर्क गर्नेहरूका लागि यो विषय उठान बाबाजीको विरोध हुन सक्ला, तर संवैधानिक र प्राज्ञिक हिसाबले यो विषय चर्चा गर्नयोग्य छ । यहाँ आदित्यनाथ र कालीबाबाबारे राज्यको झुकाव संवैधानिक कसीमा हेर्नुपर्ने हुन्छ । नेपालको संविधानको प्रस्तावनामै नेपाललाई ‘धर्मनिरपेक्ष’ राष्ट्रको रूपमा परिभाषित गरिएको छ । संविधानको धारा ४ मा नेपाल राज्यको परिभाषा दिँदै नेपाललाई ‘स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, ‘धर्मनिरपेक्ष’ राष्ट्रको रूपमा उल्लेख गरिएको छ ।
यो संवैधानिक मर्मलाई बिर्सेर छिमेकी देशका एक धार्मिक नेतालाई राजतन्त्र पुनःस्थापनासँग जोड्नु कूटनीतक मर्यादाविपरीत त छँदैछ, हिन्दू राज्य स्थापनाको नारासँगै फोटो प्रदर्शनी गर्नु संविधानविरोधी हर्कत हो । अझ अर्को महत्वपूर्ण कुरा त यस विषयमा राज्यका सुरक्षा निकायहरूले सुरक्षा चुनौती बढेको निष्कर्ष निकाल्नु संयोगमात्र हुन सक्दैन ।
सेना दिवसको पूर्वसन्ध्यामा पृतनापतिहरूको सम्मेलनमा ‘क्षेत्रीय भू-राजनीतिबाट सिर्जित सुरक्षा चुनौती सामना गर्न सबै एक हुनुपर्ने’ भनेर निकालिएको निष्कर्ष भारतीय दबाब हिन्दू राज्यका नाममा अरु बढिरहेको बुझ्न कठिन हुँदैन । देशको राजधानीमा उत्तर प्रदेशका मुख्यमन्त्री बाबा आदित्यनाथको फोटो प्रदर्शनी, लगत्तै उनी निकट र भारतीय संस्थापन निकट मानिएका चर्चित बाबा (ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ५ मा पुर्ख्यौली घर भई भारतमा बसोबास गर्दै आएका) को ओखलढुंगा र खोटाङ भ्रमणमा सुरक्षा सतर्कता, पूर्वसांसद, पूर्वमन्त्रीदेखि वर्तमान सांसद, स्थानीय सरकारका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरूको दौडधुप, अभिनन्दन अर्पण हेर्दा लाग्थ्यो कि यो देशका कार्यकारी प्रमुखको भ्रमण हुँदैछ ।
एक धार्मिक बाबा, जसले कुनै एक अमुक धर्मको प्रचारमा आफ्नो शक्ति खर्चिरहेका छन्, उनीप्रति राज्य संयन्त्र र राजनीतिक नेतृत्वको यो आकर्षणले के सन्देश दिँदैछ भन्ने गम्भीर प्रश्न पनि सँगै उब्जाएको छ ।
एकाध धार्मिक स्थलमा पूजाआजा गर्न आउने उनको सामान्य कार्यलाई सुरक्षा निकाय र स्थानीय सरकारका प्रमुखहरूको प्राथमिकता, अभिनन्दन, बिन्तीपत्र पेश जस्ता काम हेर्दा हामी मानव सभ्यताको थियोलोजिक स्टेजतिर पुगेको भान हुन्थ्यो । अझ भ्रमण व्यवस्थापनमा समेत राजनीतिक नेतृत्व जोडिएको, आफूलाई पहिचान र आफ्नो धर्म-संस्कृतिको संरक्षक भन्न रुचाउने केही पालिका प्रमुखले बाबाजीसमक्ष चढाएको बिन्ती अझ रोचक देखिन्थ्यो । एक धार्मिक बाबा, जसले कुनै एक अमुक धर्मको प्रचारमा आफ्नो शक्ति खर्चिरहेका छन्, उनीप्रति राज्य संयन्त्र र राजनीतिक नेतृत्वको यो आकर्षणले के सन्देश दिँदैछ भन्ने गम्भीर प्रश्न पनि सँगै उब्जाएको छ ।
भारतीय संस्थापनका र नेपालको पूर्ववर्ती सामन्ती राजसंस्थाका हितैषी भनेर स्वयं बताउँदै आएका, नेपालमा हिन्दू राज्य र राजसंस्थाको स्थापना हुनुपर्ने वकालत गर्दै आएका उनै बाबाजीसमक्ष राज्य संयन्त्र, स्थानीय सरकारका प्रमुख, वर्तमान र पूर्वसांसदहरूको अगाध ‘प्रेम’ गैरकूटनीतिक, गैरसंवैधानिक र धर्मान्धताको चरमोत्कर्ष हो भन्न सकिन्छ । अझ आफूलाई कम्युनिष्ट भन्नेहरू, किराँत सभ्यताको वकालत गर्नेहरू, उन्नत प्रजातन्त्रको ठेकेदार ठान्नेहरूको हिन्दू राज्य र राजतन्त्रका पक्षमा पैरवी गर्ने एक धार्मिक गुरुजीसमक्षको लम्पसार निकै लज्जाजनक थियो ।
विभिन्न समाजशास्त्रीहरूले राजनीतिमा अलौकिक शक्तिमाथिको विश्वासबारे अध्ययन गरेर निष्कर्ष निकालेका छन् कि ‘मानिस जब आफूप्रति आफैंलाई विश्वास गर्न छोड्छ, आफ्ना कर्मप्रति विश्वास गुमाउँछ, त्यसबेला अलौकिक शक्तिको शरणमा पुग्छ । धाम पुग्छ, बाबाजीहरू भेट्छ र तान्त्रिक विधिबाट आफूलाई शक्ति आजर्नको बाटोमा डोर्याउँछ ।’ एक जना बाबाको शरणमा राजनीतिक नेता र तिनका अनुयायीहरू पुग्नु उनीहरूलाई आफैं आफ्ना नीति, कर्म र आफ्ना अनुयायीहरूप्रतिको अविश्वास हो, समग्रमा जनताप्रतिको अविश्वास हो । ओखलढुंगाको दृश्यले पनि यसैलाई पुष्टि गर्दछ ।
चर्चित विद्वान सिग्मन्ड फ्रायडले धर्मलाई ‘सामूहिक न्युरोसिस’ अथवा ‘सामूहिक अस्वस्थता’ भनेर व्याख्या गर्दै ‘टोटेम एण्ड टाबू’ (सन् १९१३) पुस्तक लेखे । उनले अर्को ‘द फ्युचर अफ एन इल्युजन’ (सन् १९२७) पुस्तकमा धर्मलाई एक भ्रमको रूपमा प्रस्तुत गरेका छन्, जसले मानिसहरूलाई जीवनका कठिन वास्तविकताहरूबाट भाग्न मद्दत पुर्याउँछ । अर्थात् धर्मले मानिसलाई आफ्नो वर्तमानको जिम्मेवारीबाट भागेर भ्रमपूर्ण भविश्यको तिलस्मी कल्पनामा डुबाउँछ ।
एक जना बाबाको शरणमा राजनीतिक नेता र तिनका अनुयायीहरू पुग्नु उनीहरूलाई आफैं आफ्ना नीति, कर्म र आफ्ना अनुयायीहरूप्रतिको अविश्वास हो, समग्रमा जनताप्रतिको अविश्वास हो । ओखलढुंगाको दृश्यले पनि यसैलाई पुष्टि गर्दछ ।
‘द जर्मन आइडियोलोजी’ (फ्रेडरिक एंगेल्स र कार्ल मार्क्स- १९४६) मा धर्मलाई ‘झूटो चेतना’ भनिएको छ । यही ‘झूटो चेतना’ले मानिसलाई कुन तहको अन्धतामा पुर्याउँछ भनेर हेर्न टाढा जानै पर्दैन । तथाकथित राजवादीहरूको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अजयसिंह विष्ट उर्फ योगी आदित्यनाथको फोटो प्रदर्शनी र शनिबार पूर्वी पहाडका खोटाङ र ओखलढुंगामा भएको कालीप्रसाद दाहाल अर्थात् श्री श्री १००८ महाराज कालीबाबाको भ्रमणमा पोखिएको चेतना अध्ययन गर्दा पुग्छ । अर्थात् सिग्मन्ड फ्रायडले भनेको ‘सामूहिक न्युरोसिस’ भन्न सकिन्छ ।
बाबाजीको भ्रमण धार्मिक हिसाबले हुनु यहाँका आस्थावान् समुदायको हितमै हुन्छ । त्यस अर्थमा ओखलढुंगा र खोटाङका धार्मिकस्थलहरूको प्रचार र प्रवर्द्धन हुनेमा दुईमत छैन । उनको भ्रमलाई धार्मिक संस्थाका रूपमा व्यवस्थापन गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न साथ खोज्नु पनि स्वाभाविक हो, तर यहाँ बाबाजीसँग राजनीतिक सान्निध्यता जोड्न गरिएको प्रचार र सोही तहको व्यवस्थापन विद्यामान संविधान र कूटनीतिक मर्यादामा विल्कुल छैन भन्न यो सन्दर्भ जोडिएको हो ।
अझै रोचक कुरा चाहिँ के भने केन्द्रमा कालीबाबा र उनको अनुयायी राजावादीहरुसँग कांग्रेस एमाले नेतृत्वको कटाक्ष चलिरहेका बेला जिल्लामा भने ती पार्टीका केन्द्रीय नेताहरु प्रदिप सुनुवार,यज्ञराज सुनुवार तथा जनप्रतिनिधि ज्ञानेन्द्र रुम्दाली भने उनकै स्वागतमा उभिएको दृष्य कताकता अमिल्दो देखियो । संघीय सांसद रामहरी खतिवडाले चलाखीपूर्वक छलेको कालीबाबाको स्वागतमा जनजाति नेताहरुको आकर्षण उदेकलाग्दो भएको टिप्पणी पनि सुनियो ।
नेता, पूर्वमन्त्री, पूर्वसांसद, स्थानीय सरकार प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरूको अभिनन्दनपछि काठमाडौं फर्किएका कालीबाबाले दिएको अभिव्यक्ति थप अर्थपूर्ण छ । अर्थात् उनको अभिव्यक्तिले ओखलढुंगाका गणतन्त्रवादी नेताहरूको अनुहारमा मज्जाले खरानी घसिएको छ, उनले देशमा हिन्दू राज्य र राजतन्त्र आवश्यक छ, विमानस्थलदेखि निर्मल निवाससम्मको जनताको भीडले त्यसलाई पुष्टि गरेको भनेर अन्र्तवार्ता दिएपछि ।
यो बाबाको व्यक्तिगत विचार हो, उनलाई बोल्न स्वतन्त्रता छ, तर आफैंले रगत बगाएर ल्याएको गणतन्त्र फाल्ने आन्दोलनमा ऊर्जा भर्न आएका बाबासँग लम्पसार पर्नुपर्ने नेता, सांसद, पालिका प्रमुख, राज्य संयन्त्रका अधिकारीहरूलाई आइलागेको भाउँतो चाहिँ के रहेछ, विस्तारै पटाक्षेप हुने नै छ । अझ ‘आफू सरकार प्रमुख भएर सत्तामा बस्ने अनि बाबासँग विकास माग्दै बिन्ती बिसाउने’हरूले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा सरकार प्रमुख हुनुको दम्भ कुन डिग्रीमा गर्दै होलान् ?

Leave a Reply