कांग्रेस गुटको लडाइँ स्ववियूमा पोखियो, नेविसंघकै कारण धेरै क्याम्पसको चुनाव रोकियो

काठमाडौं । गृह प्रशासनको समेत नेतृत्व गरिरहेको प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसको गुटको लडाइँ क्याम्पसमा पुग्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६२ मध्ये १६ आंगिक क्याम्पसको स्ववियू निर्वाचन अवरुद्ध भएको छ ।

कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा संस्थापन पक्ष, डा.शेखर कोइराला पक्ष र महामन्त्री गगन थापा पक्षबीच विश्वविद्यालयमा प्रष्ट तीनधार देखिएको छ । अझ केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत कतिपय क्याम्पसमा कृष्ण प्रसाद सिटौला गुट समेत निस्किएपछि स्वविय निर्वाचन अवरुद्ध भएको हो ।

त्रिविका पदाधिकारीले नेविसंघकै विवादका कारण १६ वटा क्याम्पसमा निर्वाचन अवरुद्ध भएको र अरू केहीमा निहुँ खोज्ने प्रयास भइरहेको बताएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने उम्मेदवारीका कारण केही क्याम्पसमा विवाद भए पनि आफूहरूकै कारण ती क्याम्पसमा निर्वाचन अवरुद्ध नभएको दाबी गरे ।

शेर्पाले त्यसो भनिरहँदा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघकै उनीविरोधी पक्षले पत्रकार सम्मेलन गरेरै निर्वाचन हुन नदिने बताएको छ । पद्मकन्या क्याम्पसमा बहालवाला स्ववियु सभापति ज्योति पनेरुकै नेतृत्वमा निर्वाचन अवरुद्ध बनाइएको थियो । यद्यपि त्यहाँ चैत ७ गते निर्वाचन हुने भएको छ ।

नेपाल विद्यार्थी संघको कोइराला समूहले महेन्द्र मोरङ क्याम्पसमा स्ववियू निर्वाचन निष्पक्ष हुने वातावरण नभएसम्म निर्वाचन हुन नसक्ने बताउँदै आएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य योगराज दाहालले सहमतिबिना निर्वाचन गरिए जे पनि हुने धम्की दिँदै आएका छन् ।

उनले भने, ‘यदि गरिए कोही कसैको आत्मदाह हुनसक्छ । कोही मर्न सक्छ, कोही मार्नसक्छ । यो चेतावनी दिन चाहन्छु ।’

त्रिविले आइतबार सबै आंगिक क्याम्पसमा पत्राचार गरी निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । तर काठमाडौंको शंकरदेव, त्रिवि केन्द्रीय क्याम्पस, विश्वभाषा क्याम्पस,पब्लिक युथलगायतमा नेविसंघकै कारण निर्वाचन अवरुद्ध छ ।

नेपाल ल क्याम्पस र सानो ठिमी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गरेका छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेविसंघको आन्तरिक विवादका कारण निर्वाचनमा असर परेको र स्ववियू निर्वाचन अवरुद्ध बन्न पुगेको बताए ।

बडालले भने- नेविसंघका कारण धेरै क्याम्पसमा स्ववियू निर्वाचन अवरुद्ध भएको छ । कतिपय क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी मिलेर आफूले जित्न नसक्ने भएपछि तालाबन्दी गरेका घटना पनि छन् । तर यसपटक आमरुपमा नेविसंघकले आन्तरिक विवाद मिलाउन नसक्दा स्ववियूलाई बन्धक बनाउन खोजेको छ । विश्वविद्यालयले निर्धारित मितिभित्र सबै क्याम्पसमा निर्वाचन गराउनुपर्छ ।

निर्वाचन रोकिएका अधिकांश क्याम्पसमा नेविसंघकै कारण प्रक्रिया अघि नबढेको अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले बताए । सरस्वती क्याम्पस लैनचौरमा भने नेकपा एसनिकट अनेरास्ववियूले तालाबन्दी गरेको बताइएको छ ।

यसैबीच अखिल क्रान्तिकारीले अमृत साइन्स क्याम्पस ठमेलमा आइतवार राति तालाबन्दी गरेको छ । यहाँ अनेरास्ववियुबाट यसअघि सचिवमा निर्वाचित रुद्रहरी पोखरेल सभापति उम्मेदवार छन् । क्रान्तिकारीले चुनाव जित्न नसक्ने देखेपछि तालाबन्दी गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए ।

त्यस्तै राति नै त्रिचन्द्र क्याम्पसमा पनि नेविसंघले तालाबन्दी गरेको छ । नेविसंघका दुई प्यानल उठेका बेला वामपन्थी विद्यार्थीले अनेरास्ववियुको नेतृत्वमा गठबन्धन गरेपछि आन्तरिक विवाद सुल्झाउन समय लाग्ने भएकाले तालाबन्दी गरिएको नेविसंघ स्रोतले जनाएको छ ।

उपत्यकाबाहिरका सिद्धनाथ क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन अवरुद्ध छ । यीमध्ये अधिकांश क्याम्पसमा पनि नेविसंघकै कारण निर्वाचन प्रक्रिया अघि नबढेको अनेरास्ववियुको आरोप छ ।

विद्यार्थी संगठनहरु आफैँ विवाद गर्ने र आन्तरिक विवाद मिलाउन नसक्दा चुनाव प्रक्रिया अवरुद्ध बनेको त्रिविका रेक्टर डा।खड्ग केसीले बताए । पार्टीका आन्तरिक विवादमा विश्वविद्यालय प्रवेश गर्न नमिल्ने भएकाले विद्यार्थीहरू नै मिलेर आउनुपर्ने उनको भनाइ रहेको छ ।

चैत ५ गते निर्धारित मितिमा निर्वाचन हुन नसकेका क्याम्पसमा एक साताभित्र सहमतिमा निर्वाचन हुनेगरी छलफल भइरहेको केसीले बताए । चैत २० गतेभित्र निर्वाचन नभए ती क्याम्पसमा स्ववियू विघटन हुनेछ ।

Comments

One response to “कांग्रेस गुटको लडाइँ स्ववियूमा पोखियो, नेविसंघकै कारण धेरै क्याम्पसको चुनाव रोकियो”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    चुनाब हुन नदिने यी संगठनलाइ निरंकुश का मतियार घोषणा गर्नु पर्छ। बिध्यार्थी को हक खोस्ने लाइ बाइबाइ गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *