हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा तथा मूर्तिचोरको आरोप लगाएको भोलिपल्ट शनिबार हेटौंडामा उनको तस्बिर जलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्बिर जलाइएको हो ।
जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम पलाँताले प्रचण्डको तस्बीर जलाएका हुन् । बोल्दाबोल्दै उनले प्रचण्डको तस्बिर जलाएका थिए ।
राप्रपाले भने प्रचण्डको मेलम्ची अभिव्यक्तिको ‘साइड इफेक्ट’को रुपमा उनको तस्बिर जलाउनुपर्ने कारण बनेको व्याख्या गरेको छ । शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा भएको सभालाई सम्बोधन गर्दै राजतन्त्रप्रति कडा टिप्पणी तथा पूर्वराजालाई भाइमारा र मूर्तिचोर को हो भनेर सोधेका थिए ।
प्रचण्डको उक्त अभिव्यक्तिपछि आक्रोशित राजावादी पार्टी राप्रपाले त्यसको प्रतिकारको रुपमा आज हेटौंडामा उनको तस्बिर जलाएको जनाएको हो ।
प्रचण्डको तस्बिर जलाएपछि युवा नेता पलाँताले सामजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भनेका छन्, ‘प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनुभएको छैन होला नि भनेर सन्देश दिएको छु । मूर्ति चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनुभयो ।’
गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले पोखराबाट एउटा भिडियो सन्देश जारी गर्दै आफू सक्रिय हुन लागेको सन्देश दिएपछि उत्साहित राजावादीहरुले फागुन २५ गते उनी काठमाडौं फर्कंदा भव्य स्वागत गरेका थिए ।
उक्त घटनापछि नेपालमा अहिले राजावादी र गणतन्त्रवादीबीच आरोपप्रत्यारोप चलिरहेको सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रमको मञ्चमै प्रचण्डको तस्बिर जलाइएको छ ।
यो जनताको आक्रोश हो, गणतन्त्रवादी भन्नेहरुको मुटुमा ढ्याङ्ग्रो ठोकिसक्यो: सिंह
प्रचण्डको तस्बिर जलाउने कार्यक्रममा राप्रपाका नेता एवं मकवानपुरकै क्षेत्र नम्बर १ बाट विजयी संघीय सांसद दीपकबहादुर सिंह उपस्थित थिए । उनले प्रचण्डको तस्बिर जलाइनु जनताको आक्रोश रहेको प्रतिक्रिया दिएका छन् ।
उनले फागुन २५ मा राजाको समर्थनमा देखिएको जनसमर्थनले आत्तिएर प्रचण्डले जथाभावी बोल्दै हिँडेको कारण यस्ताखाले प्रतिकार भएको नेपालप्रेससँग बताए ।
सांसद सिंहले भने, ‘१७ हजार मारेर आएका प्रचण्डले जनताको लागि के गरे ? आफ्नै छोराको मृत्यु हुँदासमेत एउटा पोष्टमार्टम गर्न नसक्ने प्रचण्डले राजामाथि गम्भीर आरोप लगाउनु हुन्थेन नि ! तीन पटक प्रधानमन्त्री भैसकेको व्यक्तिले यदि राजाले मूर्ति चोरेको थाहा भएको भए त्यही बेला किन कारबाही गर्न सक्नुभएन त ?’
उनले अहिले जनताले प्रचण्डहरुलाई विश्वास गर्न छाडिसकेको बताउँदै राजाको पक्षमा माहोल बन्दै गएपछि डरले उनीहरुले जे पायो त्यही बोल्दै हिँडने गरेको र त्यसको प्रतिकार जनताले गर्ने बताए ।
यस्ता घटनाले देशमा राजनीतिक मुठभेडको स्थिति त आउँदैन भन्ने प्रश्नमा नेता सिंहले यसले मुठभेडभन्दा पनि शान्तिपूर्ण तवरबाट राजतन्त्र पुनःस्थापना हुनेमा आफूहरु ढुक्क रहेको प्रतिक्रिया दिए ।
गणतन्त्रविरुद्ध यस्ता गतिविधिको सशक्त प्रतिकार हुन्छ: वाईसीएल
राप्रपाका युवा नेता कार्यकर्ताले कार्यक्रमकै बीच पार्टी अध्यक्ष प्रचण्डको तस्बिर जलाएको घटना निन्दनीय रहेको भन्दै गणतन्त्रमा यस्ताखाले क्रियाकलापको सशक्त प्रतिकार हुने वाईसीएल मकवानपुरले प्रतिक्रिया दिएको छ ।
पछिल्लो समय केही सङ्ख्याका राजवादीहरुले मरिसकेको राजालाई मसानघाटबाट फिर्ता ल्याउँछु भन्ने दिवा सपना देखिरहेको बताउँदै वाईसीएल मकवानपुरका अध्यक्ष लवराज ठकुरीले त्यस्ता सपनाहरु सपनामा मात्र सीमित हुने बताए ।
ठकुरीले राजावादी भनिएका पार्टीहरुमा राजनीति संस्कार नभएकाले उनीहरुलाई राजनीतिक संस्कार सिकाउन माओवादी तयार भएको बताए ।
केही हजार सङ्ख्याका भाडाका मान्छे बटुलेर राजा ल्याउँछु भन्दै अराजक गतिविधि गर्दै हिँड्नेहरुले क्रान्तिकारीहरु एक भएर प्रतिकार गर्दा भागेर फुर्सद नपाउने उनले चेतावनीसमेत दिए ।
‘मर्ने बेलामा कमिलाको पखेटा पलाउँछ भन्ने नेपाली उखान अहिले राजावादीहरुमा लागू हुँदै गएको छ’, उनले नेपालप्रेससँग भने, ‘राजनीति गर्दा देशको शासन व्यवस्थामा रहेर गर्न अनुरोध गर्छु ।’

Leave a Reply