काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले अव्यवहारिक माग राखेर तालाबन्दी जस्ता अनैतिक हर्कत गरेर स्ववियु चुनाव भाड्न खोजेको आरोप लगाएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै नेविसंघले स्ववियु चुनावलाई जतिसक्दो अल्मल्याउने, नतिजा सुनिश्चित नभएसम्म प्रक्रिया अवरुद्ध गर्ने र विद्यार्थी हितभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए ।
विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि विश्वविद्यालय क्याम्पस, पब्लिक युथ क्याम्पस, पद्मकन्या क्याम्पसलगायतका क्याम्पसहरूमा नेविसंघले आफ्नै आन्तरिक झगडा मिलाउन नसकेको बहाना बनाएर तालाबन्दी गरेको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने आत्मबल नभएका कारण लोकतन्त्रको खोक्रा नारा घन्काउँदै चुनाव नै भाँड्ने प्रयास भइरहेको छ । लोकतन्त्रको रट लगाउने, चुनाव आउनासाथ लोकतन्त्रको घाँटी निमोठ्ने, विद्यार्थीलाई प्रयोग गरेर व्यक्तिगत स्वार्थ साँध्ने कांग्रेसको पुरानै शैली फेरि दोहोरिएको छ ।’
अनेरास्ववियु निर्धारित समयमा निर्वाचन गराउन दृढ रहेको भन्दै उनले त्रिवि स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ मा निर्वाचनको कार्यविधि स्पष्ट रूपमा उल्लेख रहेको बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘अव्यवहारिक माग राखेर तालाबन्दी जस्ता अनैतिक हर्कत गरेर चुनाव भाँड्न खोज्ने नेविसंघलाई अनेरास्ववियु कडा चेतावनी दिन चाहन्छ । त्रिवि प्रशासन, सम्बन्धित निर्वाचन समिति तथा सरकारलाई पनि हामी स्पष्ट रूपमा भन्न चाहन्छौं- जुनसुकै दबाब आए पनि स्ववियु निर्वाचन तोकिएको समयमा सम्पन्न गरिनुपर्दछ । तालाबन्दी, अवरोध, अस्थिरता र षड्यन्त्र नेविसंघको स्वाभाविक चरित्र हो । विद्यार्थी संगठनको खोल ओढेर यसरी खेलवाड गरिनुहुँदैन ।’
मातहतका सबै कमिटी, नेता तथा कार्यकर्ताहरूलाई स्ववियु निर्वाचनमा कुनै अवरोध सिर्जना नगर्न, गराउन खोज्नेहरूलाई विद्यार्थीहरूको ऐक्यबद्धताबाट प्रत्युत्तर दिन र कुनै पनि हालतमा तालाबन्दीको राजनीति नस्वीकार्ने अध्यक्ष बडालले चेतावनी दिएका छन् ।


Leave a Reply