नेपाली भाषी ओजेश उप्रेती बने अमेरिकाको फोर्टवर्थ शहरको ह्युमेन रिलेसन्स कमिसनर

काठमाडौं । अमेरिकाको फोर्टवर्थ सिटी काउन्सिलको ह्युमन रिलेसन कमिसनरमा नेपाली भाषी ओजेश उप्रेती नियुक्त भएका छन् ।

अमेरिकाको ११औं ठूलो शहर तथा चौथो सबैभन्दा बढी जनसंख्या रहेको महानगर फोर्टवर्थको सिटी काउन्सिल बैठकले मेयर म्याटी पार्करको प्रस्तावलाई अनुमोदन गर्दै उप्रेतीलाई ह्युमन रिलेसन कमिसनको कमिसनर नियुक्त गरेको हो ।

नियुक्तिले उप्रेतीको नेतृत्व, सामुदायिक सेवाप्रतिको समर्पण तथा विभेद, विविधता र समावेशीसम्बन्धी मुद्दा समाधान गर्ने उनको क्षमतालाई उच्च मान्यता दिएको नेपाली समुदायका सदस्यहरुले बताएका छन् ।

कमिसनरको रूपमा उनले शहरका नीतिहरूमा प्रभाव पार्न, न्यायसंगत अभ्यासहरूको पैरवी गर्न र सामुदायिक सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

‘ओजेश उप्रेती फोर्टवर्थ सिटी काउन्सिल डिस्ट्रिक्ट ५ का प्रतिनिधिमात्र नभई सम्पूर्ण शहरभरि दक्षिण एसियाली समुदायको आवाज उठाउने महत्त्वपूर्ण व्यक्तित्वका रूपमा रहनेछन्’, अमेरिकामा रहेका नेपाली प्रशन्न संग्रौला भन्छन्, ‘यो नेपाली डायस्पोराले गरेको एक प्रगतिको उदाहरण पनि हो ।’

उप्रेतीको भूमिकाअन्तर्गत जातीय, धार्मिक वा अन्य कुनै प्रकारका विभेदसम्बन्धी विषयमा सिटी काउन्सिल र सिटी म्यानेजरलाई सल्लाह दिनु, पूर्वाग्रह र विभेद हटाउन नीति तथा उपायहरू सिफारिस गर्नु, शहरका विभिन्न समुदायहरूबीच आपसी सहयोग र संवाद प्रवर्द्धन गर्न पहल गर्नुलगायतका मुद्दाहरु छन् ।

Comments

One response to “नेपाली भाषी ओजेश उप्रेती बने अमेरिकाको फोर्टवर्थ शहरको ह्युमेन रिलेसन्स कमिसनर”

  1. सुनिलराज उप्रेती Avatar
    सुनिलराज उप्रेती

    म त दङ्ग !

Leave a Reply

Your email address will not be published. Required fields are marked *