तीन दिनभित्र प्रहरी नेतृत्वमा भारी रिक्तता छाउँदै: एकसाथ को–को विदा हुँदै ?

काठमाडौं । सरकारले ३१ औं प्रहरी महानिरीक्षक नियुक्त गर्न अब तीन दिन मात्र बाँकी छ । तर, चैत ४ मा हुने प्रहरी नेतृत्वको भारी रिक्ततालाई पूर्ति गर्न कम्तिमा दुई साता लाग्ने भएको छ ।

नेपाल प्रहरी नियमावलीले गरेको व्यवस्थाअनुसार सेवा अवधीको ३० वर्षे समय पूरा गरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसहित पाँच एआईजी र तीन डीआईजीले चैत ४ गते मध्यरातबाट अवकाश पाउनेछन् । उनीहरु २०५१ चैत ५ गते निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका हुन् ।

२०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० गते एसपी बढुवासम्म सँगसँगै रहेका उनीहरु त्यसभन्दा माथिल्लो दर्जामा फरक फरक मितिमा बढुवा भए । तर, व्याचीहरुको पदोन्नतिका निम्ति एकापसमा सहयोगी भूमिका खेल्दा डीआइजी र एआइजीबाट अवकासको अवसर पाएका छन् ।

यसअघि उमेरहदका कारण अवकास भएका एआइजी र डीआइजीका रिक्त दरबन्दीमा सोही ब्याचका अधिकृतलाई अवकासपूर्व बढुवा दिइयो । कतिसम्म भने, एआइजी हुने सबै मापदण्ड पूरा भए पनि पद रिक्त नहुँदा डीआईजीबाटै अवकास हुने स्थितिमा पुगेका जनक भट्टराईलाई एआईजी बनाउन पदावधी बाँकी रहेका रवीन्द्र केसीले राजीनामा नै दिए ।

चैत ४ मा यो टोली अवकास हुँदा आइजी कुँवरसहित प्रधान कार्यालयमा कार्यरत एआइजीमध्ये अपराध अनुसन्धान विभागका प्रमुख कुवेर कडायत, कार्य विभाग (अपरेशन) प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, प्रशासन विभाग प्रमुख टेकप्रसाद राई र प्रदेश समन्वय विभाग प्रमुख जनक भट्टराई पनि सँगै अवकास हुन्छन् । डीआईजीमध्ये गण्डकी प्रदेश प्रमुख भोलाबहादुर रावल र सुदूरपश्चिम प्रदेश प्रमुख गणेश चन्द पनि अवकास हुँदैछन् ।

आगामी प्रहरी महानिरीक्षका लागि हाल एआईजी दर्जामा रहेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख दीपक थापा, प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदिप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ दौडमा छन् । सिआइबी प्रमुख थापा प्रतिस्पर्धाको अग्रपंक्तिमा छन् ।

केन्द्रीय प्रहरीको रिक्तताले प्रदेश प्रहरीसम्मको संरचनालाई असर पार्ने भएको छ । ४ गतेपछि तीन प्रदेश प्रमुखविहीन हुन्छन्, बाँकी दुई प्रदेशका डीआइजी छुट्टीमा बस्दा निमित्तको भरमा चलाउनुपर्ने अवस्था छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका तत्कालिन डीआइजी जनक भट्टराई एआईजीमा बढुवा भएदेखि त्यहाँको प्रमुख पद रिक्त छ । गण्डकी र सुदूरपश्चिमका प्रमुखहरु ४ गते अवकास भएपछि त्यहाँ पनि प्रमुख पद रिक्त हुन्छ ।

मधेस र बागमती प्रहरी प्रमुखहरु क्रमशः लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल रिक्त हुने एआईजीका बढुवायोग्य उम्मेदवार हुन् । उनीहरु त्यही दिन बिदा लिएर काठमाडौं केन्द्रित हुँदैछन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख राजन अधिकारी र लुम्बिनीका प्रमुख दानबहादुर कार्की ३२ औं आईजीका दावेदार भएका कारण उनीहरु पनि पहिलो लटमै एआइजी बढुवाको दौडधुपमा छन् ।

४ गते रिक्त हुने केन्द्रीय प्रहरीका पाँच विभाग नयाँ एआईजी बढुवा नहुँदासम्म प्रमुखविहीन हुन्छन् । त्यसबेलासम्म कुनै विभाग डीआईजी त कुनै विभाग एसएसपीहरुले कमाण्ड गर्ने अवस्था छ ।

यदि केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) प्रमुख थापा आईजी बढुवा भएमा नयाँ एआईजी बढुवा नहुँदासम्म डीआईजी चन्द्रकुवेर खापुङले निमित्तका रुपमा कमाण्ड सम्हाल्नेछन् । उनी आफैं एआईजीका दावेदार हुन् ।

प्रहरी प्रतिष्ठान प्रमुख गिरी आईजीमा छनौट भए डीआईजी डा.मनोजकुमार केसीको हातमा त्यहाँको कमाण्ड सर्नेछ । यद्यपि, उनी पनि ३२ औं महानिरीक्षकका प्रतिस्पर्धीमध्येका हुन् । पहिलो लटमा एआईजी बढुवाको दौडधुपमा छन् ।

उपत्यका प्रहरी प्रमुख तामाङ आईजी भएमा त्यहाँको कमाण्ड एसएसपी शेखर खनालले सम्हाल्नुपर्ने छ । त्यहाँका डीआईजी ध्रुवराज राउत ४ गते अवकास हुने टोलीका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *