पूर्वराजाको स्वागतबारे प्रधानमन्त्रीको कटाक्ष- उहाँ विश्वकपमा गोल्डेन बुट जितेर आउनुभएको हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंमा आउँदा भव्य स्वागत गरिएकोप्रति तीव्र कटाक्ष गरेका छन् । काठमाडौंबाहिर आतेजाते गरिरहने शाहलाई स्वागतका नाममा तमासा देखाइएको उनको टिप्पणी छ ।

आज अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित लामो अन्तरवार्ताका क्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन् । राजाका नाममा सडकमा उफ्रिनेहरूमा कुण्ठा र आक्रोश मात्रै रहेको निष्कर्ष उनले सुनाएका छन् ।

आक्रोश व्यक्त गर्दै ओली भन्छन्, ‘उनीहरूका विचार, व्यवहार देख्दा यी कतैबाट सञ्चालित, परिचालित, ‘पेड’ खालका तत्त्वजस्ता देखिन्छन् । नेपालको संविधान नमान्ने, लोकतान्त्रिक प्रणाली नमान्ने यिनीहरू राजनीतिक, सामाजिक नागाहरू हुन् । अराजकता र मर्यादाहीनताको नेतृत्व गर्ने जमात हुन् यी ।’

पूर्वराजा काठमाडौं आउँदा स्वागत गरिनु औचित्यहीन भएको उनको टिप्पणी छ । उक्त स्वागतका क्रममा आफ्नो नाम लिएर नाराबाजी गरिएकोमा पनि उनले आपत्ति जनाएका छन् ।

ओली भन्छन्, ‘पूर्वराजालाई स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो त्यो जुलुस ? के सन्दर्भमा गरेको पूर्वराजाको स्वागत ? पोखरा बागलुङ कता-कता गएर केही मन्दिरहरू घुमेर आउनुभयो । कुन चाहिँ महान् काम देशलाई गर्नुभयो र यत्रो स्वागत गर्न पर्‍यो ? उहाँ त्यहाँ चुनाव जितेर आउनुभयो कि विश्वकप जितेर ? गोल्डेन बुट पो लगाएर आउनु भयो कि  ! विश्वकपबाट मेडल थापेर आउनु भो कि ? किन यो तमासा देखाउनु पर्‍यो ?’

पाठकलाई रुचिकर हुने ठानेर सो अन्तरवार्ताको एक अंश यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ:

प्रधानमन्त्रीविरुद्ध सडकमा तथानाम गाली बर्सिने, लोकतान्त्रिक प्रणालीमाथि धावा बोल्नेलगायत संविधानविरोधी क्रियाकलापहरू किन भइरहेका छन् ? यस विषयमा राज्यको बुझाइ के हो ?

जुन तत्त्वहरू सडकमा उफ्रिरहेका छन्, उनीहरूमा कुनै पनि अग्रगामी सोच र दृष्टिकोण छैन । उनीहरूसँग कुण्ठा छ, आक्रोश छ । उनीहरूका विचार, व्यवहार देख्दा यी कतैबाट सञ्चालित, परिचालित, पेड (तिरेर ल्याइएका) खालका तत्त्वजस्ता देखिन्छन् । यिनीहरूको फोटो बोकाइले पनि सडकमा आउनेहरूको हैसियत स्पष्ट पार्छ ।

उनीहरूले जुलुसमा जसको फोटो बोके के यो उहाँको निर्वाचन क्षेत्र हो, के उहाँ विश्वस्तरीय विचारक हो वा कुनै सिद्धान्तका प्रतिपादक हुनुहुन्छ कि ? के कारणले उहाँको फोटो बोकियो होला रु यस्ता गतिविधिले लुकेर भए पनि म्याउँ गरेको आवाज आएको सन्देश चाहिँ दिन्छ ।

वस्तु नदेखिएको होला, म्याउँ गरेको आवाज चाहिँ आयो । यी प्रतिगामी तत्त्व हुन् । यी असभ्य जमात हुन् जसले नेपालको मूल्य, मान्यता, संस्कृति केही मान्दैनन् । नेपालको सरकार मान्दैनन् उनीहरू । नेपालको संविधान मान्दैनन्। लोकतान्त्रिक प्रणाली मान्दैनन् । राजनीतिक, सामाजिक नागाहरू हुन् यिनीहरू । अराजकता र मर्यादाहीनताको नेतृत्व गर्ने जमात हुन् यी ।

त्यसो भए के गर्ने त ? संविधानविरोधी र राज्य प्रणालीमाथि धावा बोल्नेहरूलाई यसै छाडिदिने ?

हैन, त्यसको पनि समय आउँछ । मेरो हतार गर्ने बानी छैन । उनीहरूको गन्तव्य उनीहरूलाई नै थाहा छैन । हिँडेका छन्, उफ्रिएका छन् ।

उनीहरू त ‘राजा चाहियो’ भन्छन् नि ?

राजा चाहियो भन्छन्, त्यो भनेको के हो ? कोही भन्छन् म त पूर्वराजा भन्दिनँ, राजै भन्छु । रहँदै रहेछन् त । अर्काले भन्छन्- पूर्वराजा नभन, श्री ५ महाराजाधिराज फलाना वीरविक्रम शाहदेव भन । रहँदै रहेछन् त राजा । राज्यमा हस्तक्षेप नगर्ने, केही नगर्ने राजा चाहिने भए छँदै छन् त । कि एउटा अधिनायकवादी तानशाह चाहियो ? हामीजस्तो खुलस्त हुनुपर्‍यो । हामी अधिनायकवाद, तानाशाह मान्दैनौँ, लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । खुलस्त, अठोट हो यो । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । केही सुझाव छ भने, हामी स्वागत गर्छौँ । उनीहरूले तानाशाह राजा बनाउन खोजेको कि सेरेमोनियल ? चुनावकै बाटोबाट राजा आए भइगयो नि  !

जनमत राजनीतिक दलहरूसँग छ, जनताभन्दा माथि हु आर यू ? तीन करोड जनताको इच्छा दुई–चार हजार मान्छेमा प्रकट हुन्छ ? जनइच्छा प्रकट हुने माध्यम त मतदान नै होला । आए भो नि त । हामी प्रतिगमनतिर देशलाई जान दिँदैनौँ । व्यक्तिलाई वा परिवारलाई अधिनायकवाद हुन दिँदैनौँ । जनताको सार्वभौमसत्ता व्यक्ति वा परिवारमा लगेर सुम्पिने कुरा किमार्थ स्वीकार्य हुँदैन । शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ । यो विश्वव्यापी मान्यता हो । यी एडभान्स्ड भनिएकाहरू के नाच नाच्दैछन्, कठपुतलीको हिसाबले थाहा नभएको हो कि अरू केही हो ? प्रश्न गम्भीर छ ।

तर, पूर्वराजाको काठमाडौंमा भव्य स्वागत नै भयो । यो के हो ?

पूर्वराजालाई स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो त्यो जुलुस  ? उद्देश्य के थियो, मलाई गाली गर्ने कि पूर्वराजाको स्वागत गर्ने रु स्वतःस्फूर्त कुदेका छन् त जुलुसमा यी मान्छेहरू ? के सन्दर्भमा गरेको पूर्वराजाको स्वागत ?

बडा अनौठो घटना, पूर्वराजा ज्ञानेन्द्र शाहजी कहिले भारततिर घुम्न गइरहनुहुन्छ । कहिले देशभित्रै मन्दिरतिर गइरहनुहुन्छ । कुन–कुन मन्दिर घुमेर आउनुभयो, पोखरा बागलुङ कता–कता गएर। केही मन्दिरहरू घुमेर आउनुभयो । कुन चाहिँ महान् काम देशलाई गर्नुभयो, के चाहिँ महान् कोसेली बोकेर आउनुभयो र यत्रो स्वागत गर्न पर्‍यो ? उहाँ त्यहाँ चुनाव जितेर आउनुभयो कि विश्वकप जितेर आउनु भयो ? कि गोल्डेन बुट पो लगाएर आउनु भयो कि ! के गर्नु भो ? मेडल थापेर आउनु भो विश्वकपबाट ? केका लागि यो विशेष स्वागत यसपल्ट ? यस्तो आतेजाते त उहाँ गरिरहनुहुन्छ । यसपल्ट किन यो तमासा देखाउनु पर्‍यो ?

चुप लागेर बसेको छ भनेर कमजोरी नठानियोस् । म फेरि दोहोर्‍याउन चाहन्छु, कमजोरी नठानियोस् । हामी संघर्षको मैदानमा हुर्किएका हौँ । भेलहरूमै पौडिएर अनेक जँघारहरू तर्दै आएका हौँ, हामीलाई केही छैन । प्रणाली र संविधानको रक्षा गर्नु, कानुनी राजको पृष्ठपोषण गर्नु, देशमा सुशासन र शान्ति सुरक्षा कायम गर्नु प्रधानमन्त्रीको हिसाबले मेरो कर्तव्य हो ।

प्रधानमन्त्रीलाई तथानाम गाली गर्नेमाथि कानुन लाग्दैन ?

भैँसी आफैँ हेलिँदै गहिरो पानीतिर गयो भने धपाएर वा धकेलेर त्यहाँ हुलिदियो र भैँसी बग्यो भन्ने अपजस किन लिनु ?

Comments

One response to “पूर्वराजाको स्वागतबारे प्रधानमन्त्रीको कटाक्ष- उहाँ विश्वकपमा गोल्डेन बुट जितेर आउनुभएको हो ?”

  1. Manaia Thompson Avatar
    Manaia Thompson

    उखाने र देशैको बेइज्जत होस त|किना बर्बरौछस|यी कम्यिष्टहरुको मुटु हल्ल्यो, यो पक्का हो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *