काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिङ्गो समाज र देश समृद्ध हुने सरोकारवालाहरूले बताएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारण सभा तथा स्थापना दिवसको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले संविधानमा उल्लेखित भएका अधिकारहरू सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने बताइन् । आर्थिक रूपमा सबल नहुँदा सम्म महिलाहरूले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उनले संविधानमा उल्लेखित भएका अधिकारहरू सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिइन् ।
महिला उद्यमी र व्यवसायीहरूलाई निर्धक्कसँग स्वच्छ व्यवसाय गर्न आग्रह गर्दै उनले भनिन्, “तपाईँहरूले तिरेको करबाट राज्य संयन्त्र चलेको छ । त्यो कर कहाँ र कसरी सदुपयोग भएको छ । त्यसबारेमा पनि चासो लिने गर्नुस् ।”
आम महिलाको बारेमा नीतिगत रूपमा राज्यले र व्यवहारिक रूपमा समाजले समान धारणा बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उनको भनाई थियो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष विष्णुमाया उचहीले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो रहेको बताइन् । महिलालाई उद्यमशील बनाउन तालीमका साथै आर्थिक र प्राविधिक क्षेत्रको सहज पहुँच हुनुपर्नेमा उनले जोड दिइन् ।
नेपालले संविधान र अन्य कानुनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको बताउँदै उनले मुलुकको समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्तीकरण गर्नुपर्ने आवश्यकता औँल्याइन् । महिलाहरू आर्थिक रूपमा सशक्त भएकै कारण महिलामाथि हुने हिंसा कम भएको भन्दै उनले पछिल्ला दिनमा महिलाहरू आर्थिक रूपमा सशक्त हुँदै गएको बताइन् ।

Leave a Reply