कोरला नाकाबाट पाँच घण्टामा पुगिन्छ कैलाश- अध्यागमन कार्यालय कुर्दै गाउँपालिका

काठमाडौं । १५ दिन अगाडि लगानी बोर्डका सहसचिव प्रद्युम्न उपाध्याय मुस्ताङको कोरला नाका पुगे । सशस्त्र प्रहरीका इन्स्पेक्टरले उपाध्यायलाई भने, ‘यहाँबाट केहि घण्टामै कैलाश पुग्न सकिन्छ ।’

सहसचिव उपाध्यायले गुगल गरे । गुगलमा सात घण्टा हाराहारी समय लाग्ने देखायो । र, उनले सामाजिक सञ्जालमा एक्समा गुगल म्याप र दूरी सहित राखेर पोस्ट गरे, ‘नेपालबाट कैलाश जान सहज बाटो बनिसकेछ । मुस्ताङको कोरला नाकाबाट ३६० किमीमा कैलाश रहेछ । उताको बाटो राम्रो, यताको पनि ठीक । अस्ति कोरला पुग्दा चीनतर्फ छिर्ने मौका जुट्यो । चीनको अध्यागमन कार्यालय सञ्चालनमा छ । हाम्रो अध्यागमन व्यवस्थित गरे मुस्ताङबाट ८ घण्टामा मानसरोवर पुग्न सकिने भयो ।’

उपाध्यायको पोस्टमा उत्साहित बने चीनका लागि पूर्वनेपाली राजदूत तथा पूर्वमुख्यसचिव लीलामणि पौडेल । पौडेलले लेखे, ‘यो परिपथ मानसरोवर जस्तै हिन्दू-बौद्ध दुवैको आस्थाको तीर्थ मुक्तिनाथ समेट्ने भएकोले मानसरोवर यात्राका लागि अद्वितिय मार्ग हो ।’

उपाध्यायले हाल सञ्चालनमा नआएको तर सम्भावना भएको यो मार्गका विशेषताहरूको सूची बताउँदै लेखे:

– कालीगण्डकी किनारका दर्जनौँ तीर्थको यात्रा

– मुक्तिनाथको यात्रा

– कैलाश मानसरोवर यात्रा

– चीन भारत जोड्ने पूर्णनिर्मित व्यापारिक मार्ग

– हिमाली श्रृङ्खलाको अवलोकन मार्ग

– सम्भावनायुक्त मुस्ताङ र डोल्पाको विकास

उपाध्यायले नेपाल प्रेससँग बोल्दै कोरला नाकामा चीनतर्फ अध्यागमन, स्तरीय सडक र पूर्वाधार भएको बताए । साथै, चीनले उक्त नाका क्षेत्रमा ‘मेनल्याण्ड’ चीनबाट आएकाहरूको पनि बस्ती बनाएको आफूले पाएको उनले बताए । तर, नेपालतर्फ खासै पूर्वाधार छैनन् । खाली स्थान छ । चीनबाट स्थानीय व्यापारीले किनेर ल्याएका सामान राख्ने तम्बु बजार छ ।

यसलाई व्यवस्थित गर्ने आधार भएको भन्दै उपाध्याय भन्छन्, ‘अहिलेबाटै योजनाबद्ध तरिकाले कुन स्थान आवासीय र कुन व्यवसायिक भनेर छुट्याएर काम गरेमा धेरै सम्भावना छ । त्यसो गरिएन भने अव्यवस्थित संरचना बन्ने डर छ ।’

४६०० मिटर बढीको उँचाइको क्षेत्रमा मानव बस्ती चीनतर्फ बसे जस्तै नेपालतर्फ पनि राख्न सकिने उनले बताए । ‘यो क्षेत्र विकास गरेमा सीमावर्ती भारतको रक्सोल तथा बेलैया नाकाबाट धार्मिक पर्यटकहरू ल्याएर कैलाश पुग्ने सबैभन्दा छोटो मार्गको रूपमा विकास गर्न सकिन्छ ।’

सहसचिव उपाध्यायले मुस्ताङको उच्च क्षेत्र संवेदनशिल भएको, कतिपय निषेधित भएको र पर्यटकहरूलाई जान महँगो पर्ने जस्ता समस्याहरू भने भएको बताए ।

२०८० कार्त्तिक २७ बाट मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पर्ने चीनसँग जोडिएको कोरला नाका सञ्चालन भएसँगै कैलाश प्याकेज सञ्चालनमा गाउँपालिकाले पनि सोचिरहेको छ ।

गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले आफूहरूले सक्रिय रूपमा कैलाश यात्रा कोरलाबाट गराउन पहल गरिरहेको बताए । नेपाल प्रेससँग बोल्दै गुरुङले भने, ‘यहाँबाट पाँच घण्टामै कैलाश पुग्न सकिन्छ । त्यसको लागि हामीले अध्यागमन कार्यालय स्थापना गर्न पहल गरिरहेका छौँ ।’

कोरना नाकाबारेमा के भन्छन् ल्हासाका नेपाली महावाणिज्यदूत लक्ष्मी निरौला ?

गाउँपालिका अध्यक्षदेखि लगानी बोर्डका सहसचिव हुँदै पूर्वमुख्यसचिव सबैले कोरला नाकाबाट हुने कैलाश मानसरोवर यात्राको कुरा गरेसँगै नेपाल प्रेसले ल्हासाका महावाणिज्यदूत लक्ष्मी निरौलालाई सोध्यो- नाका सञ्चालनबारेमा के हुँदै छ ?

जवाफमा निरौलाले भने- ‘मैले यस अघि नै उल्लेख गरिरहेको छु कि, हाम्रा सबै नाका हाल सुचारु छन् । मुस्ताङमा रहेको कोरला नाकामा हाल अध्यागमन कार्यालय नभएका कारण उक्त मार्गबाट आवतजावत गर्नेलाई समस्या देखिएको छ । त्यहाँ अध्यागमन कार्यालय राख्ने नराख्ने निर्णय गृह मन्त्रालयले गर्नुपर्दछ । अध्यागमन विभागका महानिर्देशक र मुस्ताङका प्रमुख जिल्ला अधिकारी सहितको ल्हासा भ्रमणका समयमा पनि हाम्रो सो विषयमा कुराकानी भएको थियो । गृह मन्त्रालय त्यहाँ अध्यागमन कार्यालय राखी सेवा दिन तयार हुने हो भने आवश्यक सहजीकरणको लागि महावाणिज्यदूतावास सदैव तयार रहेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *