काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन, दलित, सुकुम्वासीलाई छिट्टै प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गर्ने बताएका छन् । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराए ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्तरुपमा आयोजना गरेको भूमिहीन सुकुम्वासी एवं बहुआयामिक गरिब दलित समुदायका लागि भूमि वितरण र गरिबी निवारणका सवाल: संवैधानिक अधिकारहरूको प्रश्न विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
राष्ट्रिय भूमि आयोगले देशभर भूमिहीन, दलित र सुकुम्वासीहरूलाई कानुनी प्रक्रिया पुरा गरेर वास्तविक भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको उनले दाबी गरे ।
दलित समुदायले वषौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफू जानकार रहेको मन्त्री अधिकारीको भनाई छ ।
उनले अहिले जारी भएको भूमि अध्यादेश दलित, भूमिहीनहरूको समस्या समाधानका लागि सहजीकरण गर्न ल्याइएको बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रभु हजारा पासवानले देशभरकै भूमिहीन दलितहरूको भूमि समस्या समाधानका लागि यो सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply