रुपन्देही । लुम्बिनी प्रदेशकै ठूलो सरकारी क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि ९ विद्यार्थी संगठनबीचको सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको छ । यहाँ सबै संगठनको प्रतिनिधित्व गरी नयाँ नेतृत्व चयन गरिएको हो ।
प्रदेशमा रहेका ७ आंगिक क्याम्पसमध्ये यो क्याम्पसमा धेरै विद्यार्थी रहेका छन् । स्ववियू निर्वाचनका लागि यहाँ ९ वटा संगठन दर्ता भएका थिए ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल समाजवादी, अखिल छैटौँ, वैद्य निकट अखिल क्रान्तिकारी, बहुमत निकट अखिल क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन, स्वतन्त्र विद्यार्थी समूह दर्ता भएकोमा आठ वटा विद्यार्थी संगठनले सहमति गरी स्वतन्त्रलाई १ सदस्य दिएर बाँडफाँड गरेका हुन् ।
उम्मेदवारी दर्ताका लागि स्वतन्त्रलाई १ देखि साढे १ बजेसम्मको समय दिएकोमा उक्त समयमा उम्मेदवारी नपरेको र त्यसपछि साढे १ देखि २ बजेसम्मको समय नेविसंघको समय थियो । यो समयमा स्वतन्त्र विद्यार्थी समूहका अध्यक्ष सुवास वलीसमेत भई नौ विद्यार्थी संगठनले संयुक्त रुपमा नेविसंघलाई दिएको समय मागे र सोही समयमा निम्नानुसारको सर्वसम्मत उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका सदस्य सुदिप गौतमले जानकारी दिए ।
तर एक स्वतन्त्र विद्यार्थीले आफूले उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए तर निर्वाचन समितिले निर्धारित समयमा आएका सबैको दर्ता गरिएको र अन्य विषयमा केही थाहा नभएको जनाएको छ ।
स्ववियूको अध्यक्षमा दीपेशकुमार डिसी नेविसंघबाट, उपाध्यक्षमा प्रशान पोख्रेल अखिल क्रान्तिकारीबाट, सचिव-सागर पण्डित अनेरास्ववियुबाट । सहायक सचिव-दीपक केसी अखिल समाजवादीबाट र कोषाध्यक्ष रमिला शर्मा नेविसंघबाट सर्वसम्मत भएका छन् ।
त्यसैगरी सदस्यहरूमा ७ जना नेविसंघ, ५ जना अखिल क्रान्तिकारी (बहुमत, वैध), १ जना अनेरास्ववियु, ३ अनेरास्ववियु समाजवादी, र १ स्वतन्त्रबाट सर्वसम्मत भएका हुन् ।

Leave a Reply