प्रधानमन्त्री कप क्रिकेटः मधेश र गण्डकीको पहिलो जित

रुपन्देही । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् ।

मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २८४ रनको बलियो योगफल खडा ग¥यो । मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ९२ रन जोडे । यसक्रममा उनले ११ चौका र २ छक्का प्रहार गरे ।

यस्तै ओपनर तथा कप्तान अनिलकुमार साहले ७५ रन बनाए । ७५ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । दीपेश दासले नटआउट ५६ रन बनाए । उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

बलिङमा कोशीका विपीन महतो र प्रकाश कार्कीले समान २-२ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रन बनाउँदा अलआउट भयो । कोशीका लागि शकिब हकले २५ रन बनाए । कोशीका ओपनरद्वय चिराग साह र अंकित सुवेदी दुवै डकआउट भएका थिए ।

बलिङमा मधेशका रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए । यस्तै राजेश यादवले ३ विकेट हात पारे । पवन सर्राफ प्लेयर अफ द म्याच बने । जारी प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो भने मधेशको पहिलो जित हो ।

त्यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

गण्डकीले जितका लागि पाएको ९२ रनको सामान्य लक्ष्य २९ ओभर १ बलमा ६ विकेट गुमाएर ९५ रन बनाउँदै जित हात पार्‍यो । सहज लक्ष्य पाए पनि गण्डकीको सुरुवात कमजोर रह्यो । उसले २१ रन जोड्दा ४ विकेट गुमायो ।

पहिलो क्रमका ३ खेलाडी समीर कँडेल विनारन आउट भए । अर्जुन कुमाल र वंश क्षेत्री पनि समान ६-६ रन जोडेर प्याभेलियन फर्किए । लगतै सुवास भण्डारी पनि ४ रनमा आउट भए । यसपछि दीपक डुम्रेले सम्हालिँदै अविजित अर्धशतक प्रहार गर्दै टीमलाई जित दिलाए । उनले ७८ बल खेल्दै ७ चौकासहित अविजित ५० रन बनाए । सुजन गौतम २२ रनमा अविजित रहे ।

बलिङमा दिवान पुनले ३ र दीपेन्द्र रावतले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९१ रन बनायो । विपीन शाहीले सर्वाधिक २० रन बनाए । अर्जुन घर्तीले १७, विपीन रावतले १५ र हिमांशु शाहीले १२ रन बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङमा गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपीन खत्रीले समान २–२ विकेट लिए । खेलमा दीपक डुम्रे प्लेयर अफ द म्याच भए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *