रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागीतामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ ।
अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४ औं संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको हो ।
तिलोत्तमा नगरपालिकाका निर्वतमान मेयर रहेका प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै पालिकाहरुले यसैगरी लगावका साथ काम गर्ने हो भने सफा र सुन्दर नेपाल सम्भव रहेको बताए ।
‘परिश्रमको फल मिठो हुन्छ ।’ उनले सामाजिक सन्जालमा यसको खुसी साट्दै लेखेका छन् । ‘अभियान प्रारम्भ गरेर तिलोत्तमालाई पूर्णसरसफाई उन्मुख नगरपालिका र शून्य खुला पोलोथिनमुक्त नगर घोषणा गर्दाको तत्कालीन नगर प्रमुखको रुपमा सम्पूर्ण नगरबासीसँग साट्न चाहान्छु । साथैं यो अभियानलाई नयाँ उचाईंमा पुर्याउन योगदान पुर्याउनु हुने वर्तमान जनप्रतिनिधिहरुका साथैं कर्मचारी, विध्यालय,विभिन्न संघ संस्था, क्लव, आमा समूह, वन, खानेपानी तथा सरसफाई संस्था, सिंचाई संस्था, टोल विकास संस्था, सञ्चारकर्मी, सिम नेपाल संस्था लगायत सम्पूर्ण नगरबासीमा आभार व्यक्त गर्दछु’ उनले भनेका छन् ।
तिलोत्तमाका मेयर रामकृष्ण खाणका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको हो । ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँचवटा विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागीतामा सञ्चालित सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेको उनले जानकारी दिए ।
छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्यांकनको ५० अंकको आधारमा आगामी मे महिनाको २१ देखि २३ तारिखसम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी कन्फेरेन्स ९सम्मेलन०मा अवार्ड विजेता घोषणा गरिने ओआइडिपीको वेबसाइटमा उल्लेख छ ।
तिलोत्तमा प्रारम्भिक सूचीमा परेपछि अनलाइन भोटिङमार्फत मत दिएर जिताउन नेपालभर र विश्वभर रहेका नेपालीलाई मेयर खाणले अपील गरेका छन् । ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्नेछ । अनलाइन भोटिङ गर्दा एकजनाले पाँचवटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको छ ।
ओआइडिपीको वेबसाइटमै गएर मत दिन सकिनेछ । तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागीतामा सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान गर्दै आएको छ । आठौं वर्षमा निरन्तर चल्दै आएको अभियानको १ सय ४० औं श्रृंखला सम्पन्न भएको मेयर खाणले जानकारी दिए ।

Leave a Reply