स्वास्थ्य बीमा बोर्ड सुधार्न सुझाव दिएका डा. काफ्ले कार्यकारी निर्देशक नियुक्त

काठमाडौं । स्वाथ्य बीमा बोर्डलाई सुधार गर्नका लागि सुझाव दिएका डा. रघुराज काफ्लेलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्यकारी निर्देशकको उपहार दिएका छन् । स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

स्वास्थ्यमन्त्री पौडेलले डा. शभ्मु आचार्यको संयोजकत्वमा गठन गरेको स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्यमा डा. काफ्लेसँगै डा. भगवान कोइराला र सदस्य सचिव डा. सरोज शर्मा रहेका थिए ।

उक्त कार्यदलले गत पुष १४ मा मन्त्री पौडेललाई प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदन पेश गरेको साढे २ महिना नपुग्दै पौडेललको प्रस्तावमा काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

प्रतिवेदनको मस्यौदामा डा.काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । व्यास नगरपालिका स्थायी घर भएका काफ्लेले आफैले पेश तथा सुझाव दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीमा आइपुगेका छन् ।

कार्यकारी निर्देशक नियुक्त गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष काफ्लेसँगै कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारीको नाम पेश गरेको थियो ।

समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

काफ्ले यस अघि गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक समेत भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *