पोस्टरसँगै चलचित्र ‘महाभोज’को रिलिज मिति घोषणा, जेठ १५ गते विश्वव्यापी प्रदर्शन हुने

काठमाडौं । पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘महाभोज’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले मंगलबार चलचित्रको पोस्टरसँगै रिलिज मिति घोषणा गरेको हो।

यो चलचित्र आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने भएको छ। सो मितिमा ‘महाभोज’ नेपालसहित नेपालीहरू बसोबास गर्ने सबै देशहरूमा एकसाथ रिलिज हुने जनाइएको छ ।

रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ । पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई सङ्केत गर्छ ।

पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्। उनका वरिपरि अन्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्। उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय र सङ्घर्षका भाव देखिन्छ ।

सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन। यो उनको आठौँ चलचित्र हो । यसमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका छ्न । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको र मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।

मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । चलचित्रमा साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *