राेल्पामा एमालेबाट वडाध्यक्ष जितेका तिलक: दोस्रो पटकमा पराजय भोगेपछि रुसी सेनामा गए, उतै अस्ताए

रुपन्देही । रोल्पाको सुनछहरी गाउँपालिका- ५ का पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकी (तिलक)को रुस र युक्रेनको युद्धमा मृत्यु भएको छ । माओवादीको सशस्त्र युद्धको समयमा नेपाली सेनाको जागिर छाडेर उनी वैदेशिक रोजगारीमा कतार गएका थिए । कतारपछि अफगानिस्तानतर्फ लागेको उनी बीच बाटोबाटै गाउँ फर्केका थिए ।

रोजगारीको सबै क्षेत्रमा अनुभव गरेका उनले माओवादीको दबाबले जागिर छोड्नुपरेपछि माओवादी जनयुद्धकै उद्गम रोल्पामा एमालेको राजनीति थालेका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सुनछहरी गाउँपालिका- ५ को वडाध्यक्ष निर्वाचित पनि भएका थिए ।

२०७९ सालमा सोही पदमा दोहोरिएर उम्मेदवार बन्दा उनी पराजित हुन पुगे । माओवादी उम्मेदवारसँग पराजय भाेगेपछि २०८० साल असोजमा उनी रोजगारीको लागि रुसी सेनामा गएको स्थानीय र आफन्तले धेरै पछि थाहा पाएका थिए ।

उनै तिलकको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबरले उनको परिवार अहिले शोकमा छ । फागुन १३ गतेदेखि घरपरिवारको सम्पर्कमा नभएका उनको फागुन २४ गते मृत्यु भएको पुष्टि भएको हो ।

उनका छिमेकी रेखबहादुर पुनका अनुसार रुसमा तिलकसँग काम गर्ने दुई जना साथीले दिएको सूचनाका आधारमा २४ गते उनको मृत्यु भएको पुष्टि भएको हो ।

‘सँगै भर्ना भएका सिरहाका साथी र रोल्पामै विवाह भएका अर्को साथीले दिएको सूचनालाई परिवारले आधार मानेको हो, ४ जना सँगै लडाइँमा गएकोमा २ जनामात्रै फर्केको उनीहरुले परिवारलाई सूचना दिएका रहेछन्, म तिलकको छिमेकी र सबैभन्दा नजिकको साथी भएकाले निकै पीडा भएको छ’, पुनले भने, ‘अहिले ७२ वर्षीय बुवा देवीलालले काजकिरिया गर्नुभएको छ ।’

उनका अनुसार तिलकका श्रीमती र दुई छोराछोरी छन् । गाउँमा सबैको काम गर्ने जनप्रतिनिधिको छवि बनाएका तिलकको अप्रत्याशित मृत्युले निकै पीडा दिएको सोही पालिकामा घर भएका पत्रकार तिलक जीएम बताउँछन् ।

पूर्ववडाध्यक्ष रहेका बुढाथोकीको मृत्युको खबरले जैमाकसला गाउँ शोकमा परेको छ । सुनछहारी गाउँपालिका- ५ का वडाध्यक्ष देवीलाल रोकामगरले तिलकको मृत्युले सिंगो गाउँलाई स्तब्ध बनाएको बताए ।

सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरका अनुसार खर्चिलो चुनावका कारण ऋण लागेको तिलकले सुनाएका थिए । स्थानीयका अनुसार रूस जाँदा १५ लाख जति खर्च लागेको कुरा तिलकले श्रीमतीलाई बताएका थिए ।

दोस्रो पटक वडाध्यक्षमा दोहोरिन खोज्दा पराजित भएपछि तिलक २०८० असोजमा गाउँघर र आफन्तलाई थाहै नदिई रूसी फौजमा गएको कुरा आफूले धेरैपछि थाहा पाएको छिमेकी रेखबहादुरले सुनाए ।

उनका अनुसार ७२ वर्षीय बुवा ओमबहादुर छोरा तिलकको किरिया बसेका छन् । तिलककी श्रीमती अनिता स्थानीय लुंग्रीमा पाँचौं तहकी अनमि छन् । उनीहरुका १४ वर्षीय छोरा आयुष र ७ वर्षीया छोरी आयुषा बुटवलमा अध्ययनरत छन् ।

तीन दाजुभाइमध्ये तिलक परिवारका कान्छा छोरा हुन् । जेठा दाङको भालुबाङमा बस्छन् । उनी जेसीबी अप्रेटरको काम गर्छन् । माइला पनि विदेशमै छन् । सबै दाजुभाइ भने अलगअलग बसेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *