जंगलभित्र घारीमा भेटिए तामाका ७ खड्कुला, दावी गर्न कोही आएन

काठमाडौं । दोलखा शैलुङ गाउपालिका वडा नं। ६ स्थित कृष्ण मन्दिरको छेउको जंगलभित्र घारीमा तामाको खड्कुलो लगायतका भाँडाकुँडा भेटिएका छन् स्थानीयबाट सूचना पाएर पुगेको प्रहरीले ती भाँडाकुँडा भेटेको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा बेबारिसे अवस्थामा सामानहरु फेला परेको भन्दै एउटा सूचना पोष्ट गरेको थियो । भेटिएका भाँडाकुडा कसका हुन् भन्ने अझै खुल्न सकेको छैन । सामान हराएको वा चोरी भएको भनेर कसैले उजुरी नदिएको प्रहरीले बताएको छ ।

आइतबार अपरान्ह साढे ५ बजे प्रहरीलाई जंगलमा तामाको पुराना खड्कुला, पीतलको थान लुकाएर राखेको अवस्थामा फेला परेको भन्ने खबर आएको थियो । कृष्ण मन्दिरको छेउ, घोप्टे धाराको मुनि राधाकृष्ण सामुदायिक वनमा ७ वटा पुराना खड्कुला र एउटा पीतलको थाल उन्युको घारीमा लुकाएर राखेको अवस्थामा स्थानीय महिलाले देखेका थिए । उनीहरुले खबर गरेपछि प्रहरी पुगेको हो ।

बेबारिसे अवस्थामा सामान फेला परेपछि प्रहरीले एक सूचना जारी गरी सम्बन्धित व्यक्ति स–प्रमाण प्रहरीचौकी भैसे, दोलखामा सम्पर्क गर्न आउन अनुरोध गरेको थियो । तर, हालसम्म कोही पनि दाबी गर्न आएका छैनन् । प्रहरीले उक्त सामान चोरी गरी लुकाइएको हुन सक्ने आशंका गरेको छ । तर, उजुरी नपरेकाले कसको घरबाट चोरी भएको हो भन्ने पत्ता लगाउन प्रहरीलाई समस्या भएको छ ।

पत्कर लिन जंगल गएका स्थानीय महिलाहरुले सामान देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दाताराम अधिकारीले बताए । चोरी गरेर उक्त सामान जंगलमा लुकाएर राखेको हुने सक्ने उनको आशंका छ ।

कसैले पनि गाउँबाट आफ नो सामान हराएको उजुरीसमेत नगरेको उनले बताए । उनले नेपालप्रेससँग भने, ‘अहिलेसम्म कोही मेरो हो भन्दै लिन आएका छैनन् । सामान हराएको उजुरी पनि गरेको छैन । मेरो हो भनेर प्रमाण लिएर आए पठाइदिन्छौं ।’

अधिकारीका अनुसार काठमाडौं बस्ने एक व्यक्तिले आफनो सामान हुनसक्ने भन्दै आएर हेर्ने जनाएका छन् ।

प्रहरी निरीक्षक अधिकारीले भने, ‘एकजना काठमाडौंमा बस्ने व्यक्तिले उक्त सामान आफनो भएको हुन सक्ने बताएका छन् भन्ने अपुष्ट खबर पाएको छ । उहाँले प्रमाण लिएर आए दिएर पठाउँछौं । त्यसबाहेक अरु कसैले सामानको दाबी गरेको छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *