काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह हिजो आफूले गीतसमेत गाएको नयाँ चलचित्र ‘लाज शरणम्’ हेर्न हलसम्म पुगे । चलचित्र रिलिज भएको दोस्रो हप्तामा उनी मिडियालाई सुइँको नदिईकन आफ्ना केही साथीभाइ लिएर गएका थिए ।
निर्माण टिमलाई कहिले बालेन चलचित्र हेर्न आउँछन् भन्ने व्यग्र प्रतीक्षा थियो । अचानक बालेन दरबारमार्गको क्युएफएक्स हलमा आउन लागेको खबर पाउँदा निर्माण पक्ष पनि सरप्राइज्ड भएको थियो । त्यसपछि हतार हतार चलचित्रका कलाकारहरू पनि दौडिए ।
चलचित्र हेरिसकेपछि बालेनले सबैभन्दा बढी धुर्मुसको प्रंशसा गरे । मोहम्मद आफताब आलमको हुलिया र हाउभाउलाई धुर्मुसले दुरुस्तै उतारेको उनको प्रतिक्रिया थियो ।
धुर्मुसलाई अँगाल्दै बालेनले भने ‘यस्तो डिटेलमा दिनुभएको छ नि । लास्टै दामी लाग्यो यार । एकदम मजा आयो हेर्दा । म पनि एउटा कलाकार हो नि । तपाईँको कलाप्रति उच्च सम्मान छ ।’
बालेनले चलचित्रको विषयवस्तुको पनि तारिफ गरेका थिए । कर्णालीको कथालाई निकै मार्मिक तवरबाट चित्रण गरिएको उनले बताएका छन् ।
बालेन पछिल्लो समय चलचित्र हेर्न विरलै हल पुगेका छन् । मेयर भएपछि एकाध चलचित्र हेरे पनि उनी पुरै समय हलमा बसेका थिएनन् । लाजशरणम् भने उनले पुरै हेरे ।
बालेनले गाएको र्याप ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ पनि यो चलचित्रमा समावेश छ, जसले गर्दा चलचित्रको हाइप बढाएको थियो ।


Leave a Reply