रुपन्देही । अनेरास्ववियु रुपन्देहीले जिल्लाका अधिकांश शैक्षिक संस्थाहरुमा स्ववियु निर्वाचन हुन नदिन तालाबन्दीलगायतका गतिविधि गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चैत ५ गते हुने निर्वाचन प्रक्रिया अगाडि नबढेको भन्दै निर्णय कार्यान्वयनमा गम्भीर हुन सबै विद्यार्थी संगठनहरुलाई आग्रह गर्दै संगठनले लोकतन्त्रमा विश्वास गर्न आग्रह गरेको छ ।
जिल्लाका १७ वटा शैक्षिक संस्थामध्ये ९ वटामा मात्रै निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन प्रक्रिया अगाडि बढेका अधिकांश क्याम्पसहरुमा विवाद उत्पन्न भएपछि अनेरास्ववियुले आफ्नो धारणा सार्वजनिक गरेको हो । निर्वाचन प्रक्रिया अघि बढेका क्याम्पसहरुमा समेत नेविसंघ, अनेरास्ववियु क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले अनेक बहानाबाजी गरेर पराजित मनसायले निर्वाचन रोक्न खोजेको आरोप अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले लगाएका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै उनले विद्यार्थीहरुबीच परीक्षण हुन नडराउन आग्रह गरेका छन् ।
‘जिल्लाका विभिन्न क्याम्पसमा प्रकृयासमेत अगाडि बढेको अवस्थामा आफूलाई लोकतन्त्रको हिमायती ठान्ने विद्यार्थी संगठन नेविसंघलगायतका समूहले विनाकारण अलोकतान्त्रिक ढंगले रुपन्देहीका भैरहवा बहुमुखी क्याम्यस, बुटवल बहमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसलगायतका ठाउँमा निर्वाचन भाँड्ने मनसायले गरेका अराजक गतिविधिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीहरुको संघर्ष र बलिदानीबाट विद्यार्थीहरुको हक अधिकारका लागि स्थापित स्ववियुलाईं निर्वाचनको माध्यमबाट निरन्तरता दिन सम्पूर्ण न्यायप्रेमी विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियामा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।’

Leave a Reply