‘आउटलः दफा २१९’ निर्माण टीमको दाबी- चलचित्रले एक्सनमा नयाँ बेन्चमार्क खडा गर्नेछ

काठमाडौं । फागु पूर्णिमाको अवसर पारेर यही बिहीबार नयाँ चलचित्र ‘आउटलः दफा २१९’ रिलिज हुँदैछ । यस चलचित्रलाई बिक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरि चलचित्रका निर्माता हुन् ।

निर्देशक महर्जनका अनुसार २ वर्ष लगाएर यो चलचित्र निर्माण गरिएको हो । लामो समय लागे पनि सबै टीमले निकै मेहनत गरेको महर्जन बताउँछन् ।

उनी भन्छन्, ‘यो चलचित्रमा एक्सनमात्र छैन । एक्सनसँगै चलचित्रले नेपालको महत्वपूर्ण विषयलाई उठान गरेको छ । चलचित्रमा एक्सन, ड्रामा, कमेडी, थ्रिलर सबै छ । हेर्न धेरै कुरा छ । दर्शकलाई यस पटक धेरै सरप्राइज हुनेवाला छ ।’

निर्देशक महर्जनले चलचित्रको कथा कसैको जीवनसँग नमिल्ने दाबी गरे । ‘यो एउटा काल्पनिक कथा हो । क्यारेक्टर ग्याङस्टारकै हो भने यो बदला र न्यायको कथा हो । यसको कथावस्तु निकै गह्रुँगो छ’, उनले थपे ।

फिल्मका निर्माता अग्रहरि पनि सबैको सोच मिलेका कारण ‘आउटलः दफा २१९’ निर्माण भएको बताउँछन् । उनी भन्छन्, ‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौं, जुन भन्न आवश्यक थियो । मलाई यो फिल्मले एक्सनमा नयाँ बेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ । मैले पैसा सोचेर फिल्म बनाएको होइन । नयाँ भिजन, नयाँ विषयवस्तु भएका कारण नै लगानी गरेको हुँ ।’

उनले नेपालमा पछिल्लो समय बनिरहेका चलचित्रभन्दा ‘आउटलः दफा २१९’ फरक बनेको दाबी गरे ।

‘हामीले एक्सन फिल्म त हेरेका छौं, तर त्यसमा फिल नै आउन सकेको छैन । आउटलले त्यो महसुस गराउँछ । यो फिल्मले अर्को फिल्म बनाउने पैसा उठायो भने पनि म खुशी हुन्छु’, उनी सुनाउँछन् ।

चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारलगायतका कलाकारको अभिनय छ । निर्देशक विक्कीकै लेखन रहेको अग्रहरि र निशा गुइडेको लगानी, दीर्घ धामीको पटकथा र विनोद कठायत कार्यकारी निर्माता रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *