जेटीयुसीसी अध्यक्ष सिम्खडाको सरकारलाई प्रश्न- श्रमिकको १७ हजार ३ सय मात्रै किन ?

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का अध्यक्ष जगत सिंखडाले सरकारी श्रेणीविहीन कर्मचारीले २४ हजार तलब बुझ्दा श्रमिकको १७ हजार ३ सय मात्रै किन भन्दै सरकारलाई प्रश्न गरका छन् ।

सोमबार काठमाडौंमा आयोजित दुई दिने ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ को उद्घाटन समारोहमा उनले नेपाल सरकारको श्रेणीविहीन कर्मचारीले समेत २४ हजार रुपैयाँ पाइरहँदा श्रमिकको तलब १७ हजार रुपैयाँ मात्रै रहेको भन्दै प्रश्न गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट रहेको अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष समेत रहेका सिंखडाले अहिले १७ हजार ३ सय रुपैयाँ तलबमा कुनै पनि श्रमिक काठमाडौंमा बाँच्न नसक्ने अवस्था रहेको बताए ।

उनले भने, ‘जम्मा १७ हजार ३ सय रुपैयाँमा कुनै पनि श्रमिक काठमाडौंमा बाँच्न सक्दैन, रोजगारदाताको घरमा पालेको कुकुरले पनि त्यो भन्दा बढी पैसाको खाना खान्छ । के आज श्रमिकको जीवनको भाउ छैन ? नेपाल सरकारको श्रेणीविहीन कर्मचारीले २४ हजार रुपैयाँ तलब खान्छ, अनि श्रमिकको तलब १७ हजार मात्रै किन ?

अध्यक्ष सिंखडाले बेतनमा नभई श्रमिकको तलबभत्तामा वृद्धि हुनुपर्ने आफ्नो माग रहेको बताए ।

उनले भने, ‘रोजगारदाता एक वर्षमा अर्बपतिबाट खर्बपति कसरी हुनु भएको छ, अर्बौंको पुँजी कसरी जोड्नु भएको छ ? यसमा राज्य गम्भीर हुन जरुरी छ । तर श्रमिकको तलब बढेन । रोजगादाताले सकरात्मक लिनु भएन ।’

उनले तलबभत्ता वृद्धि, सामाजिक सुरक्षाका पूर्ण कार्यन्वयन र श्रम ऐन भित्रका मजुदुरविरोधी दफा संसोधन गरिनुपर्नेमा जोड दिए । होटल क्षेत्रका सेवा शूल्क र बैंक तथा वित्तीय क्षेत्रका नराम्रा काममा सबै ट्रेड युनियन एक ढिक्का भएर अघि बढ्ने उनको भनाई छ ।

अध्यक्ष सिंखडाले जति धेरै सामाजिक सुरक्षा त्यति धेरै श्रम लचकता भन्दै अघि बढे पनि श्रम ऐन, २०४८ मा भएका अधिकार पनि २०७४ बाट संकुचित गरिएको गुनासो गरे ।

उनले भने, ‘सामाजिक सुरक्षा कोष श्रमिकका लागि चरीलाई बेला पाक्यो हर्ष न विस्माद जस्तो स्थिति छ ।’

भोकमरी तथा महामारीको अवस्थामा रहेको श्रम बजारमा आगामी दिनमा श्रमिक नपाएर होटल कलकारखाना बन्द भयो भनेर सूचना जारी गर्ने अवस्था समेत आउन सक्नेतर्फ सचेत गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *