काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजा फर्काउन सुरु भएको आन्दोलनका विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन् । आन्दोलनमा उत्रिएको समूह पनि जनता नै भएको उनको भनाइ छ ।
आज आफ्नो मुद्दाको सुनवाइका लागि जिल्ला अदालत रुपन्देही पुगेका रविले डिजिटल मिडिया एसाेसिएसन नेपालका सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गरेका थिए । आफूले बोल्ने समय आउन बाँकी रहेको बताए पनि रविले राजावादी आन्दोलनबारे छोटो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘यो दुई तिहाइको सरकार भन्या होइन र ? हामीले त भ्रष्टाचारविरुद्ध ठुलै अभियान सुरु गरेका थियौं । धेरै फाइल ओपन गरेका थियौं । ती सबै बन्द भए भन्ने सुनेको छु । सात महिनाअघि हामीले सरकार बुझाउँदा विभिन्न मानिसको गिरफ्तारी भएको थियो । माइतीघर मण्डला बन्द रहेकोमा हामीले खुला गरेका थियांै । अहिले जे भइरहेको छ, त्यसको जिम्मेवारी त दुई तिहाइको सरकारले नै लिनुपर्छ । सरकारलाई सबै थाहा हुनुपर्ने हो । त्यो हजारौंको हुल जनताकै हो नि ।’
उनले केही समयपछाडि नै वृहतरुपमा आफ्ना कुरा राख्ने बताए ।
तपाईं हराउनुभयो नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘म यतै छु, हराएको छैन । तयारीहरु गरिरहेको छु । मैले भन्ने कुराहरु बाँकी छ । जनताले हेरिरहेका छन् । जनतालाई राम्रोसित थाहा छ, जिल्लैपिच्छे मुद्दा लगाएर हातमा तारिख पर्चा थमाइएको । प्रशासकीय अधिकृत नपठाएको जनतालाई थाहा छ । खाली गाग्री पठाएको थाहा छ । आफ्ना मान्छेको मुद्दा छानिछानि जोगाएको र विपक्षीलाई छानिछानि मुद्दा लगाएको सबै थाहा छ । त्यसैले सरकारले जवाफ दिनुपर्यो । दुई तिहाइको सरकार होइन भन्या ? कि घट्यो ? के भयो, म त बाहिर थिएँ ।’
आफू नबोले पनि पार्टीले निरन्तर बोलिरहेको लामिछानेले बताए ।
‘हामी निरन्तर बोलिरहेका छौं । म संसदमा छैन । छलकपट गरेर मलाई रोकेका छन् । एउटा कुरा चाहीँ भन्छु । मलाई पुर्न भनेर जुन खाल्डो खनेका छन्, यदि सानो खाल्डो त भए ममात्रै पुरिन्थेँ । तर, यति ठूलो खाल्डो खनियो कि यी सबै त्यसमा जाकिन्छन्,’ यति भनेर उनी हिँडे ।

Leave a Reply