राजावादीलाई ओलीको कटाक्ष- एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाको स्वगतको क्रममा हिजो भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयलाई लिएर टिप्पणी गरेका छन् ।

गैसस महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन ।’

उनले सरकार ‘हरेक दिन एक कदम अगाडि’ भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा अघि बढिरहेको जिकिर गरे ।

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न ओलीले गैससहरूलाई आग्रह गरेका छन् । विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने उनको प्रष्टोक्ति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *