हरिहर अधिकारी भन्छन् : मेरो सुझावअनुसार राजाले दही खाएर निस्किने जानकारी आयो

काठमाडौं । कलाकार तथा ज्योतिष हरिहर अधिकारीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई साइत हेरेर मात्र महत्त्वपूर्ण यात्रा गर्न सुझाव दिएका छन् । आफूले आज लेखेको स्टाटसपछि पूर्वराजा दही खाएर निस्किन लागेको उनको दाबी छ ।

पूर्वराजा पोखराबाट काठमाडौं आउन लागेको सन्दर्भमा अधिकारीले आज बिहानै स्टाटस लेखेर असन्तुष्टि जनाएका थिए । राम्रा साइत नहेराईकन यो यात्रा तय गरिएको भन्दै उनले दही खुवाएर निस्किन सुझाव समेत दिएका थिए ।

अधिकारीको स्टाटस यस्तो थियो:

ज्योतिष शास्त्रको सामान्य साइत हेर्ने नियम पनि पालन गराउन नसकेको हो कि नजानेको हो रु राम्रो साइतमा चन्द्रमा दायाँ परेर यात्रा गर्दा पो सोचेको काम सफल होला, हैन र ?

हामी हिन्दू राष्ट्र बनाउँछौँ भन्छौँ, राजा ल्याएर स्थान दिनुपर्छ भन्छौँ, राजाको छेउछाउमा बोल्ने ज्योतिषी र गुरुहरू थुप्रै देख्छौँ । तर, आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन् । हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ । आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै ?

शास्त्र र साइत हेरेर कार्य गर्दा मात्र सफलता मिल्छ । त्यसैले सबै जनाले साइत हेर्ने बानी बसालौँ । यात्रा गर्नै परे दही खाएर गर्दा राम्रो ।

यो स्टाटस लेखेको ३ घण्टापछि अर्को स्टाटस लेख्दै अधिकारीले पूर्वराजा दही खाएरै निस्किन लागेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘ज्योतिष शास्त्रअनुसार आज यात्रा गर्दा ध्यान दिनु पर्ने केही कुराहरू मैले केही समयअघि पोस्ट गरेको थिएँ, त्यसै अनुरूप राजाले पनि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्नु हुने कुरा जानकारीमा आएको छ ! उहाँ लगायत सबैको यात्रा शुभ रहोस् !’

हरिहरकी पत्नी नायिका नीता ढुंगानाले पनि ‘दही खाएर पश्चिम दिशा हुँदै पोखरा विमानस्थल आउने कुरा आएको’ भन्दै स्टाटस लेखेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *