काठमाडौं । विभिन्न महिला संगठनले महिला अधिकार र समानताका लागि कानून बनाउन सरकारसँग माग गरेका छन् । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पाँच राजनीतिक दल निकट महिला संगठनहरुले अध्यादेशमार्फत निरङ्कुशता नलाद्नसमेत चेतावनी दिएका छन् ।
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापामगरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अध्यादेशमार्फत शासन चलाउने र महिला, दलित तथा उत्पीडत जनताको अधिकार खोस्ने षड्यन्त्र गरिरहेको आरोप लगाइन् ।
नेपाली महिला देश विदेशमा विभिन्न प्रकारका पीडा खेपिरहँदा सरकार गैरजिम्मेवार बनिरहेको उनको आरोप छ ।
उनले भनिन्, ‘देशमा महिला दिन दहाडै बलात्कृत भइरहेका छन्, निर्मला पन्तका हत्यारा पत्ता लगाउँदैनन्, उडिसामा पढ्न गएकी नेपाली चेली हिंसाबाट प्रताडित भइन्, तर सरकार ‘कानमा तेल हाल्ने’ काममात्रै गर्दैन, उल्टै दुई तिहाइको उन्मादमा महिला तथा उत्पीडित वर्गका अधिकार खोस्न उद्यत छ ।’

संविधानले महिलाको अधिकार र समानताको प्रत्याभूति गरिसकेको स्मरण गराउँदै थापाले भनिन्, ‘दुई तिहाइको शक्तिलाई निरङ्कुशता लाद्ने अस्त्रका रुपमा प्रयोग गर्ने भन्दा बरु सरकार संविधानअनुसार कानून बनाउनतिर ध्यान देउ, अन्यथा बन्दुक बोकेर आएका हामी महिला तिमीविरुद्ध निर्णायक लडाइँमा उत्रन नपरोस् ।’
राष्ट्रियसभा सदस्यसमेत रहेकी नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ समाजवादीकी अध्यक्ष जयन्ती राईले योगमाया न्यौपानेदेखि अहिलेसम्म महिला अधिकारका लागि बलिदान गरिरहेका महिलाप्रति अझै पनि पितृसत्तात्मक सोच नबदलिनु दुर्भाग्य भएको बताइन् ।

नेकपा एसका उपाध्यक्षसमेत रहेकी उनले भनिन्, ‘यति धेरै बलिदान गर्दा पनि हामीलाई चुलो र चौकोमा सीमित राख्ने प्रयास भइरहेका छन्, मुखले महिला अधिकार भन्ने, तर व्वहारमा महिला अधिकार खोस्ने सरकारमा छन्, उनीहरुका गलत हर्कतविरुद्ध हामी सधैं खबरदारी गर्छौं ।’
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुनले राज्यका सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखिन् ।
नेपाल समाजवादी महिला संघकी सल्लाहकार कल्पना सुवेदीले देशमा विभिन्न संघर्ष र बलिदानीपछि पनि महिलाले पूर्ण अधिकार नपाएकाले निरन्तर संघर्ष जारी राख्नुपर्ने बताइन् ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले लामो संघर्षमार्फत संविधानमा महिला हक–अधिकारलाई लिपिबद्ध गराउन सफल भए पनि व्यवहारमा लागू नहुनु गम्भीर विषय भएको बताइन् ।
उनले भनिन्, ‘हामीले तपाईंहरुलाई संसदमा अनि सरकारमा त पु¥यायौं, तर तपाईंहरुले महिलाको लागि काम गर्न सक्नुभएको छैन, त्यतातिर ध्यान दिनुहोला ।’
‘११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिलामाथि सबै खालका विभेदको अन्त्य गरौं’ भन्ने मूल नाराका साथ माइतीघर मण्डलाबाट ¥याली र नाराबाजी गर्दै नयाँ बानेश्वरस्थित संसद भवन पुगेर कोणसभामा परिणत भएको थियो ।

Leave a Reply