चीन र अमेरिकापछि बंगलादेशसँग निर्यात सम्झौता गर्दैछौं: उद्योगमन्त्री भण्डारी

रूपन्देही । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीन र अमेरिकापछि बंगलादेशसँग निर्यात सम्झौता गर्ने तयारीमा सरकार लागेको बताएका छन् ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको २४औं वार्षिक साधारणसभा तथा ११औं महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै मन्त्री भण्डारीले उक्त कुरा बताएका हुन् ।

उनले सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना अगाडि बढेको बताए । लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माणको योजना अघि बढाउन लागेको उनको भनाइ छ ।

मन्त्री भण्डारीले देशको अस्थिरता र निराशा चिर्न मुलुकका प्रमुख पार्टीबीचको सहमतिमा वर्तमान सरकार बनेको बताए ।

उनले राजनीतिक अस्थिरताका कारण उद्योग, व्यवसायिक क्षेत्रका समस्या समाधान हुन नसकेको अवस्थामा निजी क्षेत्रमा निराशा बढेको बताए ।

मन्त्री भण्डारीले उद्योगी, व्यवसायी र निजी क्षेत्रले सुन्ने, देख्ने र अनुभूति गर्ने र निजी क्षेत्रका निराशा चिर्ने गरी सरकारले आगामी नीति कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले पछिल्लो पटक सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्रलाई नीतिगत रुपमा सहज व्यवस्था गरेको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले उद्योगी व्यवसायीले नयाँ ढंगले उत्पादन लागत कम गरेर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले अब केही समयभित्र उद्योगीले महसुस हुनेगरी औद्योगिक क्षेत्र बन्ने आधार तयार भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *