सुर्खेत । कर्णाली प्रदेश सरकारले आठ महिला उद्यमीलाई सम्मान गरेको छ । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय स्रोतसाधनको उपयोग गर्दै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेमध्ये आठ महिला उद्यमीलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
सम्मानित हुनेमा डोल्पाकी ललिता थापा (करुणा घरेलु तथा अल्लो उद्योग), हुम्लाकी लछु भण्डारी (लक्ष्मी सिलाईकटाई उद्योग), जुम्लाकी नारायणी चौलागाईं (सृष्टि एन्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योग), सल्यानकी गीताकुमारी पुनमगर (दिदीबहिनी बाख्रा फार्म) र कालीकोटकी सीता शाही (शाही पोल्ट्री फार्म) रहेकाा छन् ।
त्यस्तै दैलेखकी विन्दूकुमारी उपाध्याय (विन्दू सिलाईकटाई उद्यम), मुगुकी सविना रोकाया (सविना टेलर्स) र सुर्खेतकी सुजाता पाण्डे (देउती होजियारी उद्योग एन्ड ट्रेडिङ सेन्टर प्रालि) रहेका छन्।
सम्मानपछि जुम्लाकी उद्यमी नारायणीले महिलाका नाममा जग्गा नहुँदा उद्योग दर्ता गर्न समस्या भएको बताइन् ।
प्रविधि सहज उपलब्ध नहुनु र भए पनि महँगो हुँदा उत्पादनमूलक उद्योगहरू विस्तार गर्न चुनौती भएको उनले उल्लेख गरिन् ।
कर्णालीकी जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले दुर्गम क्षेत्रका महिलाहरू अझै पनि अधिकारका लागि संघर्ष गर्नुपर्ने बाध्यता रहेको बताइन् ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ‘एक जिल्ला, एक महिला उद्यमी सम्मान’ योजना रहेको बताउँदै जाजरकोट र रुकुम पश्चिमका उद्यमीहरूले प्रक्रिया पूरा नगरेकाले सम्मान गर्न नसकिएको जानकारी दिए । छिट्टै प्रक्रिया पूरा गरी बाँकी दुई जिल्लाका उद्यमीलाई पनि सम्मान गरिने उनले बताए ।

Leave a Reply