काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले चाहेकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् ।
सिन्धुलीमा पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले सरकार बदल्ने पक्षमा नरहेको बताए ।
उनले भने, ‘चुनाव आउन तीन वर्ष बाँकी छ । हामीसँग तीन वर्षको समय छ । यो सरकार कांग्रेसले नचाहँदासम्म बदलिन्न । यहाँ पनि सबै नेताहरुले भनिसक्नुभयो, यो सरकार बदल्न कांग्रेस चाहँदैन, तर जुन दिन चाह्यो त्यो दिन गयो । चाहँदैन, हामीले नचाहँदासम्म जाँदैन । अब केही समयसम्म एमालेले नेतृत्व गर्छ त्यसपछि कांग्रेसले गर्छ ।’
महामन्त्री थापाले प्रचण्डको चकचक र उपद्रोको कारणले अहिलेको अवस्था आएको बताए ।
उनले ऊर्जामन्त्री दीपक खड्कालाई लक्षित गर्दै राम्रो काम गर्न नसके नराम्रो पनि नगर्न सुझाए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उनले भने, ‘अहिले हामी सुनिरहेका छौं, ऊर्जा मन्त्रालयको । मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो, तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठीक होइन । तीनचार महिनापछि उपयुक्त व्यक्ति ल्याएर नेतृत्व गर्न दिने । सरकारले नै व्यक्तिको पछि लागेर किचकिच गरिरहेको देखिन्छ । यस्तो कुरा ठीक होइन । यस्तो काममा कोही मन्त्रीहरू लाग्नु हुँदैन ।’
महामन्त्री थापाले मन्त्रीहरूको नराम्रो कामको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताए ।

Leave a Reply