काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रमिक महिलाहरूको हकहित संरक्षण, समान पारिश्रमिक, सुरक्षित कार्यस्थल र सामाजिक सुरक्षा लगायतका विषयमा थप सुधारका लागि पर्याप्त कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्यवहाक सभापति डिपी अर्यालले यो दिवस महिलाहरूको हक, अधिकार, समानता र सामाजिक न्यायका लागि निरन्तर गरिएको संघर्षलाई सम्मान गर्दै थप उपलब्धिका लागि संकल्प गर्ने अवसर भएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालले पनि महिला अधिकारका क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। राज्यका हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता संवैधानिक रुपले नै सुनिश्चित गरिनुले मुद्दा मुखरित मात्र भएको छैन उनीहरुको सशक्तिकरण र नेतृत्व विकासमा उल्लेख्य प्रगति भएको छ। तर, महिला सशक्तिकरणको अभिवृद्धि, लैङ्गीक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल तथा महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने लगायत क्षेत्रमा हामीले गर्नुपर्ने काम धेरै छ ।’
बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलक जस्ता समाजमा कायम रहेका कुप्रथाले महिला, किशोरी तथा बालिकामाथि भइरहेका शारीरिक तथा मानसिक हिंसाका घटना समाजका कलंक भएको भन्दै यस्ता दण्डनीय क्रियाकलाप निर्मूल गर्दै महिलाविरूद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आव्हान गरेको छ।
महिला अधिकारको आन्दोलनमा पुरुषको सशक्त सहयोग र सहकार्य उत्तिकै आवश्यक रहेको पनि बताए।

Leave a Reply