भूकम्प गएको डेढ वर्षपछि बझाङमा पुनर्निर्माण तथा पुनःस्थापना कार्यालय

बझाङ । गृहमन्त्री रमेश लेखकले बझाङमा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गरेका छन् । शुक्रबार बझाङ पुगेर गृहमन्त्री लेखकले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय जयपृथ्वी नगरपालिका- ९ देवलमा उद्घाटन गरेका हुन् ।

बझाङमा भूकम्प गएको डेढ वर्षपछि भूकम्पीय पुनर्निर्माणको लागि समन्वय कार्यालय खोलिएको हो । कार्यालय उद्घाटनको क्रममा गृहमन्त्री लेखकले तत्काल राहत, उद्धार र अस्थायी आवास निर्माणको काम भए पनि सरकारले निजी स्थायी आवास पुनर्निर्माण र पुनःस्थापना गर्ने काम गर्न नसकेको बताए ।

पछिल्लो केही महिनायता निजी आवासको पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक मापदण्ड र नियमावली बनाएर पटकपटक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमिति र राष्ट्रिय परिषद्को बैठक गरेर ती बैठकहरुबाट भएका निर्णयहरु मन्त्रिपरिषद् बैठकबाट पनि निर्णयहरु गरेर कार्यन्वयनमा लिएको बताए ।

डोटी केन्द्रविन्दु भएर गएको दुई र बझाङ न केन्द्रविन्दु भएर गएको भूकम्पबाट जिल्लामा क्षति पुगेकाले यसको पुनर्निर्माणको थालनी गरिएको गृहमन्त्री लेखकको भनाइ छ ।

उनले भने, ‘पूर्ण रुपले क्षति भएका निजी भवनहरु अब पुनर्निर्माण गर्ने अवस्थामा पुगेका छौं । त्यसको आवश्यक बजेट पनि व्यवस्था भइसकेको छ । निजी आवासको पुनर्निर्माणलाई अगाडि बढाउन जिल्लामै कार्यालय खोल्ने काम प्रारम्भ गरेका छौं ।’

भूकम्पले क्षति गरेका सरकारी कार्यालयहरु पनि यसै कार्यालयले हेर्ने र भोलिदेखि नै भूकम्पले क्षति गरेका निजी स्थायी घरहरु निर्माणमा जुट्न कार्यालयका कर्मचारीहरुलाई गृहमन्त्री लेखकले निर्देशन दिए ।

उनले पुनर्निर्माणमा सहयोग गर्न स्थानीय सरकारलाई पनि आग्रह गरेका छन् ।

उनले भने, ‘जति चाँडो लाभग्राहीहरुको पहिचान गरेर पठाउनुहुन्छ, त्यति चाँडो निर्माणको काम अगाडि बढ्छ ।’

तीन महिनाभित्र परिणाम देखिने गरी काम गर्न कार्यालयलाई निर्देशन गरेको गृहमन्त्री लेखकको भनाइ छ ।

कार्यक्रममा संघीय सांसद तथा पूर्वमन्त्री भानुभक्त जोशीले निजी आवासमात्र नभएर सरकारी कार्यालय, विद्यालय भवन र धार्मिक स्थलहरुको पुनर्निर्माण गर्न आग्रह गरे । बाढी-पहिरोको कारण क्षति भएकाहरुलाई पनि ध्यानमा राखेर काम गर्न जोशीले ध्यानाकर्षण गराए ।

प्राधिकरणको निजी आवासको पुनर्निर्माणको कार्यालय नेपालभर कुनै पनि जिल्लामा नरहेको र अस्थायी कार्यालय भए पनि बझाङमा खुलेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले बताए ।

नयाँ कार्यालय पाएअनुसार नै पुनर्निर्माण सम्पन्न गर्ने सवालमा पनि बझाङ जिल्लाले त्यसको अगुवाइ गर्ने र पुनर्निर्माणको काम सबैभन्दा पहिले गर्नेसमेत बताए ।

भूकम्प, बाढी-पहिरोले जिल्लाका विभिन्न ठाउँमा धेरै क्षति गरेकाले छिटोछरितो पुनर्निर्माणलाई तिव्रता दिन पूर्वमन्त्री अर्जुनजंग सिंहले अनुरोध गरे ।

जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले कार्यालय स्थापना भएपश्चात सबै विपदसम्बन्धी काम कार्यालयबाटै हुने हुँदा खुसी लागेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बझाङमा कर्मचारीको दरबन्दी कम रहेको र कर्मचारी नियुक्त भए पनि टर्नओभर भई सेवा प्रवाहमा समस्या हुने गरेको बताए । स्थापना भएको कार्यालयमा चार जना कर्मचारी खटाइएको प्राधिकरणले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *