व्यवसायीसमक्ष ऊर्जामन्त्री खड्काको दाबी- हर्जानासमेत तिर्नुपर्छ भनेर बिल पठाइएको छ, छानबिन गरौं न भन्दा प्राधिकरण मान्दैन

रुपन्देही । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले रुपन्देहीका व्यवसायीसमक्ष उपयोग नगरेको बिल तिर्नु नपर्ने, तर विद्युत प्राधिकरणले त्यसो गर्न नमानेको बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६६औं वार्षिक साधारणसभा तथा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खड्काले आफूले भनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नमानेको कुरा दोहो¥याएका हुन् ।

‘उपयोग नगरेको विद्युतको महसुलमात्रै होइन, हर्जानासमेत तिर्नुपर्छ भनेर बिल पठाइएको छ । यो छानबिन गरौं न भन्दा विद्युत प्राधिकरण मान्दैन, गजबको कुरा छ । मकहाँ आएअनुसार यहाँका २२ वटा उद्योग समस्यामा परिरहनुभएको छ । लाइन काटिएको अवस्था छ । पछि जोडिएको छ’, उनले भने, ‘ठीक छ, प्रयोग गरेको जति इमानदारीका साथ तिर्नुपर्छ, तिराउनुपर्छ, तर प्रयोग गरेको कति हो थाहा नपाउने ?’

सरकारले अन्यायपूर्ण कार्य हुन नदिने उनले सुनाए ।
मन्त्री खड्काले अहिले भारत र बंगलादेशलाई बिक्री गरिएको विद्युत वर्षायाममा बढी उत्पादन भएको विद्युत भएको बताए ।

मन्त्री खड्काले हिउँदमा झण्डै १ हजार मेगावाटभन्दा बढी विद्युत खरिद गरिएको बताए । सरकारले १० वर्षमा साढे १३ हजार मेगावाट विद्युत आन्तरिक खपत गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

मन्त्री खड्काले १० वर्षभित्र २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताउँदै आयात भइरहेको कुरालाई निर्यातमा परिणत गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य रहेको औंल्याए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले सवारीसाधन विद्युतबाट मात्रै चल्ने गरी सरकारले योजना बनाउनुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले चोरी तस्करीले वैध व्यापार समस्यामा परेको सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *