कास्की । मानव सेवा फाउन्डेसनले आउँदो वैशाख-जेठमा आयोजना गर्न लागेको महायज्ञका लागि पोखराको लेकसाइडस्थित बाराही घाटमा आज भूमिपूजाको कार्यक्रम राखेको थियो, तर महानगर प्रहरीले हस्तक्षेप गरेपछि उक्त धार्मिक अनुष्ठान विथोलिएन मात्रै, कार्यक्रमस्थल नै रणमैदानमा परिणत भयो ।
प्रहरी-प्रशासनसँग अनुमति नलिइकन महायज्ञ गर्न लागिएको भन्दै भूमिपूजा रोक्नलाई महानगरले प्रहरी पठाएको हो । नगर प्रहरीले आएर भूमिपूजा गर्ने टोलीलाई त्यहाँबाट हटाउने प्रयास गरे, तर फाउन्डेसनका अनुयायीहरुले प्रतिवाद गरेपछि दोहोरो झडप भएको थियो । झडपमा दुवैतर्फ घाइते भएका छन् । झडपमा दुवै पक्षबाट हतियार तथा रडहरु प्रयोग भएका थिए ।
कोटीहोम र महानगरको विवाद
पोखरा महानगर र मानव सेवा फाउन्डेसनको विवाद चौताराको रुखको हाँगा काट्न थालिएदेखि सुरु भएको हो । सुरुमा महानगरका केही वडाले रुख काट्न फाउन्डेसनलाई अनुमति दिएका थिए । आलोचनापछि महानगरले ती काटेका काठ जफत गर्यो ।
महानगरको एक्सनपछि फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्ति भनेर चिनिने विजय भण्डारीले जुनसुकै हातलमा पनि पोखराको लेकसाइडमा महायज्ञ गरेरै छाड्ने बताएका थिए । सोही क्रममा उनले ‘धर्मका लागि अधर्म गर्नसमेत तयार रहेको’ विवादित अभिव्यक्ति दिए ।
फाउन्डेसनले उक्त ठाउँमा कोटीहोम गर्न नेपाल ट्रस्टबाट जग्गा भाडामा समेत लिइसकेको छ । उक्त निर्णय रद्द गर्न महानगरले पत्र पठाएकोमा ट्रस्टले भने अस्वीकार गर्यो । महानगरले पनि उक्त ठाउँमा महायज्ञ गर्न अनुमति दिएको थियो । अहिले उक्त अनुमति खारेज गरिसकेको महानगरको दाबी छ ।

यो विषयमा दुवै टोली अदालत पुगेका छन् । सुरुमा फाउन्डेसन महानगरविरुद्ध उच्च अदालत पोखरा गएको थियो । उच्च अदालतले फागुन १ गते कोटीहोम सञ्चालनमा कुनै अवरोध नगर्न पोखरा महानगरको नाममा अन्तरिम आदेश जारी ग¥यो । उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले कोटीहोम गर्दा कुनै पनि हानि-नोक्सानी नपुग्ने र पुग्न गएमा क्षतिपूर्ति भर्नुपर्ने जनाएको छ ।
उक्त आदेशविरुद्ध पोखरा महानगरपालिकाले उच्च अदालतमा निवेदन दियो । उक्त निवेदनमा फागुन १९ गते सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र रमेश कोइरालाको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई अन्यथा गरिरहनु नपर्ने ठहर गर्यो । यस मुद्दालाई अग्राधिकार दिएर छिटो पेशी तोकी कानूनसम्मत निर्णय गर्नसमेत उच्चले आदेश गरेको छ ।

अदालतले बाटो खोलेपछि मानव सेवा फाउन्डेसन महायज्ञको तयारीमा छुटेको हो, तर महानगरपालिकाले भने आफूले महायज्ञका लागि कुनै पनि अनुमति नदिएको बताउँदै आएको छ ।
पोखरा महानगरपालिका प्रवक्ता मोतीलाल तिम्सिना महानगरले उक्त ठाउँमा महायज्ञ गर्न अनुमति नदिएको बताउँछन् । अनुमति नदिएको ठाउँमा भूमिपूजा रोक्न खोज्दा हातपात भएको उनको दाबी छ ।
‘हातहतियार राखेर गर्ने कस्तो खालको महायज्ञ हो ? महानगर महायज्ञ गर्न नदिने पक्षमा होइन, तर त्यो ठाउँ महायज्ञका लागि उपयुक्त छैन भन्ने हो’, उनले भने ।
फाउन्डेसनका संस्थापक विजय भण्डारीले अदालतको आदेश मान्न तयार रहेको बताए । कार्यक्रम हुन नदिने ठूलो षड्यन्त्र भइरहेको उनको जिकिर छ ।
‘विभिन्न पदार्थ सेवन गराइ हाम्रा शान्त कर्मचारीलाई उत्तेजित बनाएर गल्ती देखाउने र एउटा यो कार्यक्रम हुन नदिने ठूलो षड्यन्त्र छ’, उनले भने ।


Leave a Reply