काठमाडौं । नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताएका छ्न।
चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छिन् । चलचित्रको कलाकार म्यानेजमेन्ट कम्पनी ‘लिभेन्ट्स् स्टुडियो’का अनुसार यस चलचित्रकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार र अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको हो ।
अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ । अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ । निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ ।
वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता सुवास चन्द्र प्रधान हुन् । चलचित्रमा अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माता र प्रणव जोशी क्रिएटिभ निर्देशकको रुपमा रहनेछन्। कलाकार फाइनल भएसंगै चलचित्रको छायांकन सुरु हुनेछ।

Leave a Reply