काठमाडौं । प्रतिनिधिसभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्ने भएको छ । शुक्रवार बिहान ११ बजे समितिका सभापति रामहरि खतिवडा नेतृत्वको टोलीले नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयको स्थलगत निरीक्षण गर्न लागेको हो ।
प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले धेरै पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नका लागि अनुरोध तथा पत्राचार गरेको र आईजी कुँवरको कार्यकाल अन्तिम पनि अन्तिम चरणमा पुग्न लागेकाले शुक्रवार दिउसो समितिले स्थलगत निरीक्षणका लागि जान लागेको समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने, ‘समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सुरुदेखि नै स्थिलगत अनुगमन तथा निरीक्षण गर्ने प्रचलन छ । प्रहरी प्रधान कार्यालयले धेरै पटक पत्राचार पनि गरेको छ । आईजी समितिमै आएर पनि अनुरोध गर्नुभयो । उहाँको कार्यकाल पनि सकिँदैछ । त्यसैले समय मिलाएर शुक्रवार दिउसो स्थलगत रूपमा समितिले निरीक्षण गर्न लागेको हो ।’
प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले पनि संसदीय समिति स्थलगत निरीक्षणका लागि आउन लागेको नेपाल प्रेससँग बताए । उनका अनुसार नेपाल प्रहरीले गर्दै आएको काम, भोग्दै आएका समस्या र चुनौतीबारे पनि स्थलगत अनुगमनका क्रममा समितिका पदाधिकारीसँग छलफल हुनेछ ।
नेपाल प्रहरीका आईजी कुँवर आगामी चैत ५ देखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाFदैछन् । यद्यपि उनले यसै सातादेखि बिदा बस्ने तयारी गरेका छन् । आफू अनिवार्य अवकाशमा जानु अघि उनले राज्य व्यवस्था तथा सुशासन समितिलाई प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गराउन लागेका हुन् ।

Leave a Reply