छात्रालाई अश्लील म्यासेज पठाएको आरोप, छानबिन अघि बढेपछि प्रधानाध्यापकले राजीनामा

सुर्खेत । छात्रालाई आपत्तिजनक म्यासेज पठाएको आरोप लागेपछि सल्यानको कपुरकोट गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले राजीनामा दिएका छन् ।

विद्यालयमा अध्ययनरत कक्षा १० की छात्राले प्रधानाध्यापक केसीले अश्लील म्यासेज पठाएको भन्दै गाउँपालिकामा उजुरी दिएकी थिइन् ।

उजुरीपछि गाउँपालिकाले स्पष्टीकरण माग्दै निलम्बनको प्रक्रिया अघि बढाए पछि प्रधानाध्यापकले स्पष्टीकरण दिनुअघि नै पदबाट राजीनामा दिएका हुन् ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रकाश भण्डारीका अनुसार उजुरी परेपछि प्रधानाध्यापकलाई स्पष्टीकरणसहित निलम्बन गर्न पत्राचार गरिएको थियो ।

‘प्रधानाध्यापकले पठाएको म्यासेज दोहोरो अर्थ लाग्ने खालको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो’, उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर सेनले प्रधानाध्यापक केसीले तीन दिनअघि नै राजीनामा बुझाएको जानकारी दिए ।

‘गाउँपालिकाले पत्राचार गरेपछि उहाँले स्वेच्छिक रूपमा पद त्याग्नुभयो’, सेनले बताए ।

यस विषयमा प्रधानाध्यापक केसीले भने आफूले गलत नियत नराखेको दाबी गर्दै आएका छन् । ‘छात्रालाई सकारात्मक सन्देश पठाएको थिएँ, तर राति पठाउनु गल्ती भयो’, केसीले भनेका छन् ।

विद्यालय व्यवस्थापन समितिले वामदेव अधिकारीलाई नयाँ प्रधानाध्यापकको रूपमा नियुक्त गरेको छ ।

 

Comments

One response to “छात्रालाई अश्लील म्यासेज पठाएको आरोप, छानबिन अघि बढेपछि प्रधानाध्यापकले राजीनामा”

  1. Raj Avatar
    Raj

    एक पतीले आफ्नो पत्नी वाहेक कुनै पनि वाहानामा अरु केटी संग सम्पर्क गर्नु जरुरी छैन। यो काम बासना नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *