नेपाल बार निर्वाचन- उम्मेदवार चयनमा पार्टीको हस्तक्षेप भएको भन्दै डीएलएको असन्तुष्टि

काठमाडौं । नेपाल बार एसोसिएनका लागि उम्मेदवार छनौटमा पार्टीले सीधै हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेससम्बद्ध डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) का पदाधिकारीले आपत्ति जनाएका छन् ।

चैत २१ गते हुने निर्वाचनमा डीएलए र एमाले समर्थित पिपिएलएबीच चुनावी तालमेल हुने भएको छ । यस्तो तालमेलको समझदारी बनेलगत्तै डीएलएपक्षधर उम्मेदवार चयनमा पार्टीले हस्तक्षेप गरेको आरोप डीएलएका नेताहरुले लगाएका छन् ।

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा पार्टीद्वारा गठित अनौपचारिक संयन्त्रले विजय मिश्रलाई बारको आगामी अध्यक्षका लागि उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको छ । तर, डीएलए नेतृत्वले त्यसलाई स्वीकार नगरेको एक पदाधिकारीले बताए ।

‘यो निर्णय पार्टीको हो, डीएलएको होइन’, उनले भने, ‘देशभरिका साथीहरु पार्टीको होइन, डीएलएको उम्मेदवारलाई मतदान गर्न चाहनुहुन्छ ।’

डीएलएले बार नेतृत्वका लागि उम्मेदवार छनौट गर्न १३ सदस्यीय समिति गठन गरेको थियो । त्यसमा बारका पूर्वअध्यक्ष हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, डीएलएका पूर्वअध्यक्षहरु उपेन्द्रकेशरी न्यौपाने, बाबुराम कुँवर, भरत खड्का, नेपाल बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, डीएलएका वर्तमान अध्यक्ष सीताराम केसी, वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकाल, महासचिव ज्ञानेन्द्रप्रताप अधिकारी, सुजन लोप्चन, विनय सिंह र खम्बबहादुर खाति छन् ।

तर, पार्टी नेता आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गोपालकृष्ण घिमिरे, खम्बबहादुर खाति र सीताराम केसीको नाममा औपचारिक समिति बनाएर उम्मेदवार चयन प्रक्रिया अगाडि बढायो ।

उक्त समितिमा रहेका डीएलए अध्यक्ष केसीले आफ्नो नेतृत्वको संगठनले उम्मेदवार चयनका निम्ति १३ सदस्यीय समिति बनाएको भन्दै पार्टीबाट सीधै गरिएको हस्तक्षेपलाई अस्वीकार गरे ।

तर, पार्टीले बनाएको अनौपचारिक संयन्त्रमा अर्का वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेसमेत थपिएर उम्मेदवार चयन भयो ।

‘अध्यक्षले पार्टीको हस्तक्षेप अस्वीकार गरिसक्नुभएको छ, अब कसरी अगाडि बढ्ने भन्नेबारे हामी भोलि नै छलफल गरेर निश्कर्षमा पुग्छौं’, ती पदाधिकारीले बताए ।

२०४७ सालमा डीएलए स्थापना भएयता नेपाल बारका प्रत्येक निर्वाचनमा उम्मेदवार तय गर्ने काम सोही संगठनले गर्दै आएको पदाधिकारीहरुको भनाइ छ ।

एमालेपक्षीय पिपिएलए, माओवादीपक्षीय आरपिएलएसहितको वाम गठबन्धनलाई भत्काएर कांग्रेसपक्षीय डीएलए र एमालेपक्षीय पिपिएलएबीच गठबन्धन भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *