काठमाडौं । अबका चुनाव एक्ला एक्लै लड्ने भनेर घोषणा गरेका सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपाल बार एसोसियसनको निर्वाचनमा गठबन्धन भएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा गठबन्धन गरेर जितेका कांग्रेस र एमालेले नेपाल बारमा पनि गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेस एमाले गठबन्धनबाट अध्यक्षमा बिजय मिश्र र महासचिवमा केदार कोइरालाले उम्मेदवारी मनोनयन गरेका छन् । मिश्र कांग्रेस र कोइराला एमालेनिकट हुन् ।
त्यस्तै सत्ता गठबन्धनविरुद्ध माओवादी केन्द्र र रास्वपा निकट वकिलले पनि गठबन्धन गरेका छन् । विपक्षी गठबन्धनबाट अध्यक्षमा माओवादीका रमन श्रेष्ठ र महासचिवमा रास्वपाका यज्ञमणी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल बारको निर्वाचन आगामी चैत २३ गते हुँदैछ । यसअघि उच्च बार पाटनदेखि बार काउन्सिलको निर्वाचनसम्म मिलेर लडेका एमाले र माओवादीनिकट वकिलहरु नेपाल बारको निर्वाचनमा भने फरक कित्तामा पुगेका छन् ।
एमालेनिकट पिपिएलए र माओवादीनिकट आरपीएलएबीच नेपाल बारमा पनि गठबन्धन गरेर जाने सहमति यसअघि भएको थियो ।
सो गठबन्धनमा रास्वपालगायत अन्य संगठनले पनि समर्थन जनाएका थिए । बरिष्ठ अधिवक्ता शम्भु थापा,कृष्णप्रसाद भण्डारी,सतिशकृष्ण खरेललगायतको पहलमा गठबन्धनको निर्णय भए पनि कांग्रेस एमालेका शीर्ष नेताले सत्ता गठबन्धन बनाउन निर्देशन दिएको बताइएको छ ।
एमालेले अध्यक्ष पाउने सम्भावना हुँदा हुँदै महासचिव लिएर कांग्रेससँग मिलेपछि एमालेनिकट वकिलहरुमा असन्तुष्टि छाएको छ । यो पटक निर्वाचनमा ब्यापक मत क्रस हुने अनुमान गरिएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुकै निर्देशनमा बारमा सत्तापक्षीय गठबन्धन भएको हो । जबकी नेपाल बारमा कांग्रेस एक्लै र अन्य वामहरु मिल्दा बराबरी शक्ति हो ।

Leave a Reply