अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको फाइनलमा हेटौँडाका सोम र बिर्तामोडका सरोज भिड्दै

रुपन्देही । हेटौँडाका सोम लामा र बिर्तामोडका सरोज गौतम बुटवलमा जारी सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । बुधवार राति सम्पन्न सेमिफाइनलमा बुटवलका रेगन श्रेष्ठलाई ६–४ अंकले पछि पार्दै बिर्तामोडका सरोज गौतम फाइनलमा पुगेका हुन् ।

यस्तै पहिलो सेमिफाइनल खेलमा काठमाडौंका वाङ्चू तामाङलाई ६–३ अंकले पछि पार्दै हेटौँडाका सोम लामा फाइनल प्रवेश गरेका खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।

सोम र सरोजबीच फाइनल खेल बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा आज हुँदैछ । नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसिपमा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैयाँ, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ,सेमिफाइनलमा पुग्ने खेलाडीहरूलाई नगद ३०–३० हजार रुपैयाँ, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयाँ आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए ।

प्रतियोगिताको समापन र पुरस्कार वितरण दिउसो ३ बजेदेखि शुरु हुने र समापनमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्था र व्यक्तिलाई सम्मान गरिने आयोजकले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *