कैलाली । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रेशम-रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताको अन्तिम तयारी भइरहेको छ ।
जनमतको तर्फबाट सिके रावत र नाउपाको तर्फबाट रेशम चौधरीले एकता प्रक्रियाका कामहरू अगाडी बढाइरहेका छन् । मंगलबारमात्रै काठमाडौँस्थित एक होटेलमा दुई जनाले करिब ३ घण्टा यस विषयमा संवाद गरेका थिए ।
दुवै जना पार्टी एकताको अन्तिम तयारीमा पुगे पनि दुवै पार्टीले यस विषयको टुङ्गो भने केन्द्रीय समिति बैठकबाट लगाउने जनाएका छन् ।
‘जनमतको तर्फबाट सिके रावत र नाउपाको तर्फबाट रेशम चौधरीबिच पार्टी एकताको विषयमा पटक पटक संवाद र छलफल भइसकेको छ,’ स्रोतले भन्यो, ‘एकताको ड्राफ्ट बनाउने काम रेशम चौधरीले गरिरहनु भएको छ ।’
रेशम चौधरी निकट स्रोतका अनुसार एकताको ड्राफ्टको काम उनले करिब पुरा गरिसकेका छन् । दुवै पार्टीको विधानलाई एकताबद्ध बनाएर नयाँ विधान बनाउने काममा पनि अहिले रेशम खटिएका छन् ।
पार्टीको नाम, सङ्गठनात्मक स्वरूप र नेतृत्वबारे पनि छलफल अन्तिम चरणमा पुगेको उनीहरूको दाबी छ । दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टी प्रतिनिधिसभाको छैटौँ ठूलो दल बन्नेछ। अहिले संसद्मा रहेका १३ वटा दलमध्ये जनमत आठौँ र नागरिक उन्मुक्ति एघारौँ ठुला दलहरू हुन्। यदि यी दुई दलकाबीचमा एकता भयो भने त्यो पार्टी छैटौँ ठूलो दल बन्नेछ।
अहिले संसद्मा क्रमशः कांग्रेस (८९), एमाले (७८), माओवादी (३२), रास्वपा (२१), राप्रपा (१४), एकीकृत समाजवादी (१०), जसपा (७), जनमत (६), जसपा नेपाल (५), लोसपा (४), नागरिक उन्मुक्ति (४), राष्ट्रिय जनमोर्चा (१) र नेमकिपा (१) छन्।
यी दुई पार्टीबीच एकता हुँदा १० सिट हुन्छ। त्यो सिटको हैसियत संसद्मा छैटौँ हो। संसद्मा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सिट नै छ। तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो । जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी यो बन्ने छ ।
जनमत इच्छुक, रन्जिताको असहमति
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने विषयमा आफ्नो पार्टी प्रस्ट रहेको बताए । आन्तरिक रूपमा सबै तयारी सम्पन्न भइसकेको भन्दै एकताका लागि केही प्राविधिक प्रक्रिया मात्रै बाकी रहेको उनको भनाए छ।
‘हामी पार्टी एकता गर्ने भन्दै छलफल र सहमति गर्दै अगाडी बढिरहेका छौँ, सबै प्रक्रिया अन्तिम चरणमा छ, केही समय भित्रै दुवै पार्टी एक हुन्छन् होला’ उनले भने, ‘अहिले केही प्राविधिक प्रक्रिया मात्रै बाकी छन् ।’
बर्दिबासमा आगामी २५ र २६ केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यसले एकताको प्रक्रियालाई अगाडी बढाउने प्रवक्ता डा। यादवले जानकारी दिए ।
‘पहिचानको लागि लडिरहेका शक्तिहरू एक हुनुपर्छ भनेर हामी नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्न लागेका हौँ’ उनले भने, ‘हाम्रो एकताको प्रक्रियालाई आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्छ । उहाँहरूले पनि केन्द्रीय समितिबाट अनुमोदन गरेर चाँडै दुवै पार्टीबीच एकता हुन्छ।’
यादवले राज्यसत्ताको विभेदविरुद्ध शक्ति निर्माण गरेरै खडा हुनुपर्ने निष्कर्ष आफूहरूले निकालेको पनि सुनाए। ‘थारूहरूमाथि पनि विभेद छ। यसमा हामी मिलेरै अगाडि बढ्ने भन्ने सहमति भएको छ। पहिले पनि हामीले कार्यगत एकता गरेका हौँ। जनताका हक र हितका लागि अब हामी मिल्दै छौँ,’ उनले भने।
प्रतिनिधि सभामा दुवै पार्टी मिल्दा १० जना सांसद हुन्छन् भने मधेशमा १४ जना हुन्छन् । यहाँ जनमतका १३ र नाउपाका १ सांसद छन् । दुवै शक्ति मिल्दा लुम्बिनीमा ७ सांसद हुन्छन् । यहाँ नाउपाका ४ र जनमतका ३ सांसद छन् । सुदूरपश्चिममा भने जनमतका सांसद छैनन् । यहाँ नाउपाका ७ सांसद छन् ।
नागरिक उन्मुक्तिका संरक्षक रेशम जनमतका अध्यक्ष चन्द्रकान्तसँग निरन्तर संवादमा रहेर पार्टी एकता पक्का गर्दा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने एकताको विपक्षमा छिन्।
उनले तत्काल एकताको आवश्यकता नरहेको भन्दै एकता नहुने बताएकी छन् । एकताबारे कुनै पनि ढंगले औपचारिक संवाद नभएको उनको भनाइ छ ।
‘अहिले कुनै पनि पार्टीसँग नागरिक उन्मुक्ति पार्टीको एकता गर्ने विषयमा औपचारिक छलफल भएको छैन ’ उनले भनिन्, ‘पार्टीभित्र छलफल भएको छैन । जनमतसँग अहिले एकता हुँदैन ।’
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले तत्काल एकता नहुने दाबी गर्दा संरक्षक रेशम चौधरीले भने आगामी केन्द्रीय समितिको बैठकपछि एकताको घोषणा हुने दाबी गरेका छन् । उनले पार्टीमा फरक मत राख्न पाइने भन्दै केन्द्रीय समिति बैठकले त्यसको निर्क्योल् गर्ने बताए ।
‘पार्टी एकीकरण निश्चित हो । फरक मत राख्न पाइयो । पार्टी केन्द्रीय कमिटी बैठकले यसको निर्णय गर्छ’ चौधरीले भने ।
बिहीबार बिहान ९ बजे सिंहदरबारमा यस विषयमा नाउपाले थप छलफल गर्ने जनाइएको छ । संघीय ४ जना सांसद र संरक्षक रेशम चौधरीसहितको बैठकले एकताबारे प्रस्ट धारणा बनाउने र केन्द्रीय समिति बैठक आह्वान गर्ने विषयमा छलफल हुने स्रोतको दाबी छ ।

Leave a Reply