काठमाडौं । आठ वर्षपछि फेरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव कुमार दाहाल आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार मन्त्रीस्तरी निर्णय गर्दै उनलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
विभागका महानिर्देशक राजन पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएपछि विभागमा महानिर्देशको पद रिक्त भएको थियो ।
विभागमा महानिर्देशको जिम्मेवारी सम्हाल्दै सहसचिव दाहालले आफुले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने तथा ठगी गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउनका लागि बाकी नछोडने नेपाल प्रेससँग बताए ।
उनले आफूले ऐन, कानून तथा नीतिमा बसेर काम गर्ने तर कोहि कसैको दबाब र प्रभावमा काम नगर्ने स्पष्ट पारे । महानिर्देशक दाहालले जतिदिन विभागमा बस्ने, त्यति दिन नतिजा, दिनेगरी काम गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले ७८ जना सहसचिवको सरुवा गर्दा दाहाल सरुवा भए उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका थिए । उनी ९ महिनादेखि नेपाल ट्रष्टको कार्यालयमा कार्यरत थिए ।
८ वर्ष अघि उपसचिवबाट खुला प्रतिस्पर्धाबाटमार्फत २०७३ सालमा सहसचिवमा सिफारिस भएपछि दाहालको सहसचिवको पदस्थापन नै वाणिज्य विभागको महानिर्देशकमा भएको थियो । तत्कालिन अवस्थामा विभागको महानिर्देशक हुदाँ दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटको प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए ।
तत्कालिन अवस्थामा एक वर्ष महानिर्देशकको जिम्मेवारी पुरा गरेपछि सरुवा भएर सहसचिव दाहालले ११ महिना बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, एक वर्ष यातायात व्यवस्था विभागमा महानिर्देशक, ६ महिना राष्ट्रिय सूचना आयोगमा काम गरे ।
त्यसपछि १४ महिना बैदेशिक विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र केहि महिना लुम्बिनी प्रदेशकै यातायात मन्त्रालयको सचिव गरेर ११ महिना बिताए ।
त्यसपछि १४ महिना दाहाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, ७ महिना युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी सम्हाले भने त्यसपछि ७ महिना भूमि मन्त्रालयमा सहसचिवको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply