‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला, देशभरबाट कति पायो शो ?

काठमाडौं । शुक्रवारबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ को शो बाँडफाडसंगै देशभर अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

हलहरुले चलचित्रलाई बुधवार साँझसम्म देशभर करिब १२० शो दिएको छ। भने बिहीबार दिउँसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूको छ ।

चलचित्रलाई नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजले १५ शो, वान सिनेमाजले ९ शो, बिग मुभिजले ५ शो, एफक्युब सिनेमाले ५ शो र बिएसआर सिनेमाजले ४ शो दिएको छ।

‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्रको यो तेस्रो भागले कति दर्शक तान्छ, त्यो भने रिलिजपछि थाहा हुनेछ।

युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको यो चलचित्रलाई निर्देशक सशान कँडेलले निर्देशन गरेका हुन् ।

चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ ।

अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले चलचित्रमा एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् ।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।

चलचित्रको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रका एक्सन निर्देशक हिमाल केसी हुन् । सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् ।

यसमा यम ओलीको प्रोडक्शन डिजाइन रहेको छ । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *