अर्थमन्त्री पौडेलले जब माओवादी सांसदलाई भने- ‘ईएनटी’ डाक्टरकहाँ जानुस्

काठमाडौं । उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा ‘सुबोध’ लाई उनको नाकको अवस्था ठिक नभएको भन्दै चिकित्सककहाँ जान संसदको रोष्टमबाटै सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा अर्थमन्त्री पौडेलले पेश गरेको निजीकरण ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने क्रममा सांसद सापकोटाले प्रस्ताव अध्यादेशमा गिरीबन्धुको ‘गन्ध’ आएको बताएपछि यस्तो सुझाव दिएका हुन् ।

माओवादी सांसद सापकोटाले अर्थमन्त्री पौडेललाई प्रश्न गर्दै भने, ‘एउटा दुईटा होइन, ३२–३२ वटा ऐनलाई एकैपटक संशोधन गर्नेगरी ६–६ वटा अध्यादेश ल्याउनुभयो । गिरीबन्धुको पुरै स्मेल आउनेगरी भूमिसम्बन्धीको विषय आयो । अरु पनि हेर्नुभयो भने यस्तै छ ।’

माओवादी सांसद सापकोटाले उक्त अध्यादेशको मस्यौदा कुनै व्यवसायिक घरानामा गरिएको समेत आरोप लगाए ।

उनले प्रश्न गर्दै भने, ‘यो अध्यादेश कहा ड्राफ्ट भयो ? ड्राफ्ट निर्माणमा को कर्मचारी संलग्न थियो भनेर खोज्दा कोही जवाफ दिदैँन । यो कुनै कर्पोरेट हाउसमा ड्राफ्ट भएर आयो र आदेश के गर्यो भने सरकारले कमा र फुलस्टिपसमेत परिवर्तन नगरेस् । तपाईंहरु यसरी आएको होइन ?’

सांसद सापकोटाले अध्यादेशको बाटो सम्पुर्ण रुपमा गलत भएको बताए । उनले सदनमा पेश भएका ६ वटै अध्यादेशलाई खारेज गरेर विधिको बाटोमा जानका लागि आफ्नो प्रस्ताव पारित गर्न आग्रह गरेका थिए ।

लगत्तै अर्थमन्त्री पौडेलले बोलेका थिए । उनले सांसद सापकोटाको नाम नलिए पनि उनले गरेको प्रश्नलाई इंगित गर्दै गिरीबन्धुको गन्ध पाउने सांसदको नाकको स्वास्थ्य अवस्था ठिक नभएको टिप्पणी गरे । उनले सापकोटालाई इएनटी डाक्टरकोमा जान सुझावसमेत दिए ।

पौडेलले भने, ‘यहाँहरुले कताको आक्रोश कता व्यक्त गरिरहनुभएको छ । गिरीबन्धुको गन्ध को कुरा गर्नुभयो । यो अभिव्यक्ती राख्ने माननीय सदस्यज्यूको अलिकति नाकको स्वास्थ्य स्थित ठिक छैन जस्तो लाग्छ । म उहाँलाई इएनटी डाक्टर कहाँ जान सुझाव दिन्छु ।’

अर्थमन्त्री पौडेलले यस्तो जवाफ दिँदा सत्तारुढ दलका सांसदले टेबल ठोके । त्यसपछि अर्थमन्त्री पौडेले सांसद सापकोटालाई गिरीबन्धुका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिइसकेको र फेरी पनि यस विषयमा खुला छलफल गर्न तथा जवाफ दिन तयार रहेको बताए ।

उनले भने, ‘गिरीबन्धुका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीले बारबार भन्नुभएको छ । सरकारले भनेको छ । आउनुहोस् तथ्यसहित, कहाँ के भएको छ हामी खुलेआम छलफल गर्न तयार छौं । जवाफ दिन तयार छौं । त्यो निर्णयप्रति जवाफदेही छौं र लोकको बिश्वास जित्नेगरी हामी प्रस्तुत हुन तयार छौं । मनोगत आग्रहका आधारमा गिरीबन्धु, गिरीबन्धुको एकतारे बजाइरहनु म उचित ठान्दिनँ ।’

उनले थपे, ‘हाम्रोतिर एउटा उखान छ– एकातिर आँधी अर्कोतिर झोलुंगो । बिषय कहाँ छ, कुरो कतातिर । यस्तो खालको पनि नगरौ भन्ने मेरो आग्रह छ ।’

अर्थमन्त्री पौडेलेले प्रणालीमार्फत मस्यौदा बनेको स्पष्ट पारे ।

उनले भने, ‘विधेयकको ड्राफ्ट कसले गर्यो भनेर केको चिन्ता ? प्रणालीले गर्यो नि । मन्त्रीले गर्यो कि, सचिवले गर्यो कि, सहसचिवले गर्यो कि अरु कसैलाई लगायो कि, प्रणालीले गर्यो । प्रणालीसम्मत भएर यहाँ आएको छ । यसमा फेरी त्यस्ता विषयमा किन माननीयज्यूले आफ्नो मूल्यवान समय खर्च गर्ने, सदनको समय किन बर्वाद गर्ने भन्ने मेरो आग्रह हो ।’

अर्थमन्त्री पौडेलले जवाफ दिइसकेपछि अस्वीकारको प्रस्ताव फिर्ता लिन सभामुख देवराज घिमिरेले आग्रह गरे । तर माओवादी सांसद सापकोटाले जिम्मेवारीमा हुनेले उत्तर दिनुपर्ने र जिम्मेवारीमा नहुनेले प्रश्न गर्ने हैसियत राख्नुपर्ने बताए ।

उनले भने, ‘पहिलो त जिम्मेवारीमा हुनेले उत्तर दिने र जिम्मेवारीमा नहुनेले प्रश्न गर्ने हैसियत राख्नुपर्छ । आज माननीय मन्त्रीज्यूका प्रस्तुतीले त्यो कुरा देखाउदैन ।’

सांसद सापकोटाले विधि, मुल्य र मान्यताका हिसावले पनि अध्यादेशको बाटो गलत भएको भन्दै आफुले पेश गरेको अस्विकारको प्रस्तावको सूचना फिर्ता नलिएको बताए ।

उनले भने, ‘भर्खरै मन्त्रीज्यूले दिनुभएका जवाफबाट सरकारको नियत र यस्तो अन्तरबस्तुमा आश्वस्त हुन नसकेका कारण प्रस्ताव फिर्ता नलिने कुरा सदनलाई जानकारी गराउदछु ।’

 

Comments

One response to “अर्थमन्त्री पौडेलले जब माओवादी सांसदलाई भने- ‘ईएनटी’ डाक्टरकहाँ जानुस्”

  1. ksp Avatar
    ksp

    जंगली खुब जान्ने हुँ भन्छ । मालिक प्रधानमन्त्री हुँदा गिरीबन्धु कहाँ थियो ? जनतालाई बेकुव बनाउन खोज्छस् ज्यानमारा ? मोदीको ढोके बन्न पनि योग्यता छैन । जग्गा सट्टापट्टा गर्न मिल्ने कानून पास गर्दा पैसा खाएको छ सुप्रिमोले । हिम्मत भए उसैको खुट्टा मल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *