हेटौंडा । मकवानपुरमा छोराको हत्याको आरोपमा आमाबाबु पक्राउ परेका छन् । मकवानपुर प्रहरीले जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका वडा नंबर–३ अदुवाबारी निवासी ६४ वर्षका मीनबहादुर भ्लोन उनका पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई पक्राउ गरेको छ ।
आफ्नै छोरा ३१ वर्षीय भरतकुमार भ्लोनलाई कुटपिट गरि हत्या गरेको आरोपमा भ्लोन दम्पतीलाई आज हिरासतमा लिईएको मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालले बताए ।
गत शुक्रबार आफ्नै आमाबुबासँग भएको घरझगडाले उग्र रुप लिँदा भएको कुटपिटको कारण गम्भिर घाइते भएका भरतको उपचारको क्रममा शनिबार चितवनको सरकारी अस्पतालमा ज्यान गएको थियो भने घाईते भ्लोन दम्पतीको हेटौँडामा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भक्तपुर पठाईएको थियो ।
घरमा चोर आएको र आँखामा खुसार्नी छर्केर चोरीको प्रयास गरेपछि आफुहरुले प्रतिकार गर्दा चोर घाइते भएको प्रारम्भिक बयान दिएका भ्लोन दम्पतीको बयान शंकास्पद देखिएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
भक्तपुरमा उपचार गरिरहेको दम्पतीलाई प्रहरीले अस्पतालबाटै निगरानीमा राखेको थियो । प्रारम्भिक वयान र स्थानीयहरुको भनाई मेल नखाएको, उनीहरुको बयान र घटनास्थलको अवस्था फरक पाइएको कारण भ्लोन दम्पतीलाई अनुसन्धानमा लिएर घटनाबारे थप जानकारी हाँसिल गर्न लागिएको प्रहरीको भनाई छ ।
चोरी गर्न आएको भनिएका भरत र आमाबाबुबीच अंशको विषयमा यस अघिपनि घरझगडा हुने गरेको गाउँलेहरुको भनाई छ । त्यस दिन पनि सुरुमा भनाभन भएको तर घटनाले उग्र रुप लिएपछि स्थानीयहरुले इन्द्रसरोबरको सिस्नेरी प्रहरी चौकिमा खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी पुग्दा छोरा भरत अचेत अवस्थामा र भ्लोन दम्पती पनि घाइते अवस्थामा पाईएपछि प्रहरीले तीनैजनाको उद्धार गरि हेटौँडा अस्पताल ल्याएको थियो ।
घटनाको भोलिपल्ट छोराको ज्यान गएपनि दम्पतीको भने भक्तपुरमा प्रहरी निगरानीमा उपचार भएको र अवस्था सामान्य भएपछि आफूहरुले अनुसन्धानको लागि हिरासतमा लिएको प्रवक्ता अर्यालले बताए ।
दम्पतीको स्वास्थ्य अवस्था हेरेर थप अनुसन्धानको प्रक्रियालाई अघि बढाइने उनले बताए । छोरालाई बाँधेर पिटेपछि अचेत भएको र उक्त घटनाबाट बच्नको लागि दम्पतीले प्रहरीलाई चोरलाई प्रतिकार गरेको भन्ने बयान दिएको देखिएकोले दम्पतीलाई पक्राउ गरि अनुसन्धान कार्य अघि बढाईएको हुनसक्ने स्थानीयहरुले आकलन गरेका छन् ।
घटनास्थलमा पुगेका प्रहरीले प्राप्त गरेको विवरण र दम्पतीले दिएको बयान पनि मेल नखाने पाईएपछि घटनालाई सुरुबाटै प्रहरीले शंकास्पद दृष्टिकोणबाट हेरेको थियो । सोही कारण दम्पतीको उपचार समेत प्रहरी निगरानीमा गरिएको बताईएको छ ।
यस अघि पनि अंशको विषयमा छोरा भरतसँग पटक-पटक झगडा हुनु र घटना भएको दिन तीनै जना घाईते हुनेगरि हानाहान हुँदा समेत आफ्नै छोरालाई नचिनेको बयान दिनुले पनि घटना शंकास्पद रहेको प्रहरीले विश्लेषण गरेको थियो ।
खुर्सानी छर्केपछि आँखा खोल्न नसकेको ब्यक्तिको प्रहारबाट छोरा कसरी घाईते हुनसक्छ भन्ने कोणबाट पनि प्रहरीले अनुसन्धान गरेको श्रोतको दाबी छ ।
घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढेकोले सबै विषय अहिले नै खुलस्त भैनसकेको तर घटना शंकास्पद देखिएको कारण दम्पतीलाई अस्पतालबाट सोझै हिरासतमा ल्याईएको बताईएको छ ।

Leave a Reply