काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले नेपाली चियाबाट अझ बढी फाइदा लिन सकिने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको संसद बैठकमा बोल्दै नेम्वाङले इलाम जिल्ला कृषिको क्षेत्रमा अपार सम्भावना र विशेषता बोकेको जिल्ला भएको उल्लेख गर्दै त्यहाँ हुने विभिन्न उत्पादनले नेपालका अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको बताए ।
‘इलाममा प्रशस्त मात्रामा चिया, अलैची, छुर्पी, अकबरे खोर्सानी, कुचो लगायतका कृषि उत्पादनहरू गरिन्छन्, जसले नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको छ’, उनले भने ।
इलामको चिया उत्पादनमा केन्द्रित रहेर आफ्नो मन्तव्य राखेका उनले विश्व चिया प्रतियोगिता २०२३ र २०२४ मा इलामको चियाले थुप्रै विधामा प्रथम स्थान हासिल गरेको सुनाए ।
हरेक वर्ष अरबौँ मूल्यबराबरको चिया निर्यात हुने, जसले अर्थतन्त्रलाई टेवा दिनुका साथै धेरैलाई रोजगारीसमेत दिएको तथ्य उनले प्रस्तुत गरे ।
सरकारको ध्यान अझ प्रभावकारी रूपमा गएको खण्डमा, नेपालले चियाबाट हालको भन्दा ३–४ गुणा बढी फाइदा लिन सक्छ भन्ने अनुमान गर्न सकिने उनको तर्क छ ।
‘तर दुःखको कुरा के छ भने विश्वका प्रमुख चिया फोरमहरूमा नेपालको सहभागिता अझै सीमित छ’, उनले भने, ‘त्यसैगरी, चिया निर्यातका क्रममा विभिन्न समस्या झेल्नुपर्दा उद्यमीहरू निकै निराश भएका छन् ।’
त्यस्ता समस्याहरुको समाधानको आग्रह गर्दै उनले भने, ‘म यी सबै समस्याहरूको यथाशीघ्र समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

Leave a Reply