रुपन्देही । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई कतिबेला हटाउँछन् भन्ने कुनै टुंगो नभएको तर अन्तिम समयसम्म पाएको जिम्मेवारीअनुसार काम गरिरहने बताएका छन् ।
आज बुटवलमा नेपाल विद्यतु प्राधिकरण लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले सरकार र विभागीय मन्त्रीले पटक पटक लिएको स्पष्टिकरणका विषयमा असन्तुष्टि व्यक्त गर्दै आफूले कतिपटक स्पष्टिकरण दिएको समेत बिर्सन लागेको बताए ।
‘मेरो अवस्थाबारे सुन्नुभएकै होला, आज हो कि भोलि भन्ने छ, सबैले सुन्नुभएको छ, ५–६ वटा स्पष्टिकरण दिएँहोला,तयसैगरी सोधेहोलान्’, उनले भने, ‘सोध्नेहरुले सोधिरहून्, जिम्मेवारीमा रहेको लास्ट मिनेटसम्म काम गर्नुपर्छ, मलाई जिरो दिएपनि सय दिएपनि केही हुँदैन । म काम गर्न आएको हुँ ।’
घिसिङले ८ वर्ष पहिले आफू आउँदाको प्राधिकरणको अवस्था र अहिले अवस्थाका बारेमा सबैलाई प्रष्ट भएको बताए ।
‘हामी सबैले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिरहेका छौं, त्यही हिसाबमा हिंडेको छु कतिबेला हटाउँछन् थाहा छैन । मेरो मूल्यांकन गर्ने जनताले हो, प्राधिकरणका कर्मचारीले हो, मलाई कति नम्बर दिनुहुन्छ ? तपाईहरुले दिएको मान्छु, लुम्बिनी प्रदेशमा यो बीचमा कति काम भए सबैलाई थाहा छ, बाहिरको पनि सबैलाई प्रष्ट छ’, उनले भने, ‘उज्यालो देशको अभियानमा हिंडेको मान्छे हो, कति काम भएका छन् भन्ने विषय मैले भन्ने विषय होइन ।’

निर्देशक घिसिङले अहिले सबै स्थानमा विजुली पुगेको र नपुगेको स्थानमा जति रकम लगाएर भएपनि पुराउने जिम्मेवारीका साथ खटिएको बताए । घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएकोबारे संसद्मै हंगामा भएको छ ।
विपक्षी दलका सांसदहरुले यो विषय उठाएपछि यसको जवाफ दिन ऊर्जामन्त्री दीपक खड्कालाई सभामुख देवराज घिमिरेले रूलिङ गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी, रास्वपा, राप्रपा लगायतका दलले कुलमानलाई शून्य नम्बर दिइएकोबारे सरकारको जवाफ माग गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रूलिङ गरेका हुन् । आफ्नो जाने वा नजाने विषयमा कुनै चिन्ता नभएको घिसिङले सुनाए ।
घिसिङले विद्युतमा देखिएका समस्या समाधान गर्दै बक्यौता रकम उठाउन प्राधिकरण लागिरहेको बताए । इलेक्ट्रिक भेइकलका लागि प्राधिकरणले सस्तो शुल्कमा विद्युत उपलब्ध गराउँदै आएको बताउँदै उनले विद्युतको चुहावट नियन्त्रणका लागि निस्शुल्क मिटरसमेत वितरण गरिएको बताए । सो अवसरमा पालिका प्रमुखहरूले कृषि क्षेत्रका लागि सस्तो शुल्कमा विद्युत दिन आग्रह गरे ।
सडकबत्तीको बक्यौता भुक्तानी गर्ने १५ पालिकालाई गरे सम्मान
सडकबत्तीको बक्यौता भुक्तानी गर्ने लुम्बिनी प्रदेशका स्थानीय तहलाई नेपाल विद्युत प्राधिकरणले सम्मान गरेको छ ।
बक्यौता महसुल संकलन पेचिलो बन्दै गइरहेको बेला लुम्बिनी प्रदेशका १५ वटा गाउँपालिकारनगरपालिकालाई प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले सम्मान गरेको छ । यो कार्यक्रममा घिसिङ आफै आएका हुन् ।
बर्दघाट नगरपालिकाले १ करोड, रामग्राम नगरपालिकाले ३५ लाख, सिद्धार्थनगर नगरपालिकाले ६२ लाख, तिलोत्तमा नगरपालिकाले ४७ लाख, सियारी गाउँपालिका ४६ लाख र ओमसतिया गाउँपालिकाले ४० रूपैयाँ भुक्तानी गरेको प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार कपिलवस्तु नगरपालिकाले १९ लाख, सन्धिखर्क नगरपालिकाले ५ लाख, भूमिकास्थान नगरपालिकाले ४ लाख, रेसुङ्गा नगरपालिकाले २० लाख, प्रतापपुर गाउँपालिकाले २५ लाख, सरावल गाउँपालिकाले १५ लाख र सुस्ता गाउँपालिका ३२ लाख बक्यौता तिरेपछि सम्मान गरिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार ती स्थानीय तहलाई सम्मान गर्दै अब स्थानीय तहबाट आएका सुझावका आधारमा कार्ययोजना बनाउने बताए ।

Leave a Reply