काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीन महिनामा डेढ लाख रुपैयाँभन्दा बढी सहारा भत्ता वितरण गर्यो । सहकारीले चालू आवको कात्तिकदेखि पौष मसान्तसम्म १२३ सदस्यलाई एक लाख ६९ हजार ५०० रुपैयाँ आजीवन सहारा भत्ता दिएको हो ।
जनसचेतनमा आबद्ध ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई संस्थाले मासिक ५०० का दरले आजीवन सहारा भत्ता दिँदै आएको छ । यसरी सहकारीले सदस्यहरूको सहाराका लागि वार्षिक लाखौं रुपैयाँ वितरण गर्दै आएको छ । भत्तासँगै सहकारीले ज्येष्ठ सदस्यहरूलाई हिँड्ने सहाराका रूपमा स्टिलको लौरोसमेत वितरण गर्दै आएको छ । उनीहरूलाई बर्सेनि तीर्थ अवलोकन भ्रमणमा समेत लैजाने गरिएको छ ।

‘हामीले अन्य सहकारीभन्दा फरक ढङ्गले काम गर्दै आएका छौँ । हामीले ज्येष्ठ सदस्यहरूलाई सामाजिक सुरक्षा भत्तादेखि स्वास्थ्योपचारसम्ममा सहयोग गर्दै आएका छौँ । हामीले सदस्यहरूमै केन्द्रित रहेर उहाँहरूकै लागि काम गरिरहेका छौँ’, सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज दाहालले भने ।
पछिल्लो तीन महिना कात्तिकदेखि पुस मसान्तसम्म जनसचेतनले विभिन्न सहयोग शीर्षकमा ७ लाख ५७ हजार ५०० रुपैयाँ वितरण गरेको छ । जुन सहयोग १७० जना सदस्यले प्राप्त गरेका छन् । सामाजिक संस्कार, स्वास्थ्योपचार, आजीवन सहारा, सुत्केरी स्याहार र सदस्य सुरक्षा शीर्षकमा सहयोग प्रदान गरिएको छ ।
उनका अनुसार यस सहकारीले सदस्यहरूको मृत्यु हुँदा सामाजिक संस्कार खर्चबापत पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ । गम्भीर रोगबाट प्रभावित सदस्यलाई १० हजार रुपैयाँसम्म सहयोग गर्छ । यसका साथै समय-समयमा सदस्य लक्षित निःशुल्क स्वास्थ्य शिविरसमेत गर्दै आएको छ ।
संस्थाको कार्य क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब सदस्यका जेहेनदार बालबालिकालाई शिक्षा हासिलमा सहयोग गर्ने उद्देश्यले आधारभूत तहमा ५०, माध्यमिक तहमा ५० र उच्च माध्यमिक तहमा ५ गरी १०५ विद्यार्थीलाई वार्षिक रुपमा एक हजार ५०० देखि सात हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । संस्थाले बालबालिकालाई खाद्यान्न, सरसफाइ र लत्ताकपडासमेत सहयोग गरेको छ ।

प्राकृतिक प्रकोपका कारण कुनै सदस्यको घर तथा व्यवसायमा क्षति भएमा जनसचेतनले २ देखि १० हजार रुपैयाँसम्म राहत दिने गरेको छ । यस्तै सहकारीले वित्तीय साक्षरता प्रदान गर्दै आएको छ । वार्षिक १० हजार जनालाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सहकारीले सुत्केरीहरूलाई पोषणयुक्त आहार भनेर नयाँ कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्यहरू सुत्केरी भएमा सहकारीले दुई हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस्तै सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा आफ्ना सदस्यहरूलाई सहभागी गराउन बीमाको प्रिमियममा ५०० रुपैयाँ सहयोग गर्ने व्यवस्था गरेको छ ।
तीन दशकदेखि सदस्यहरूको सेवामा

जनसचेतनले सदस्यहरूको सहारा बन्दै सहकारी सेवा दिएको तीन दशक नाघिसकेको छ । जनसचेतन २०५० साल मंसिर १ गते सुरु भएको संस्था हो । जसको मुख्य कार्यालय दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ५ काब्रेमा रहेको छ ।
हनुमन्ते माविका तत्कालीन प्रधानाध्यापक यज्ञराज ढुंगेलको अगुवाइमा यो संस्था स्थापना गरिएको थियो । ढुंगेलको अध्यक्षतामा गोपीकृष्ण शर्मा उपाध्यक्ष, पुण्यप्रसाद घिमिरे सचिव, पुष्करकुमार दाहाल कोषाध्यक्ष, हरिप्रसाद दाहाल, बोमहरि दाहाल र भीमप्रसाद दाहालको सदस्यतामा तदर्थ समिति गठन गरिएको थियो । जतिबेला उनीहरूसहित शिक्षक, कर्मचारी, कृषक, व्यापारीलगायत ३४ जना मिलेर संस्थाको यात्रा प्रारम्भ गरेका थिए ।

संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठका अनुसार स्थानीय जनताको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गर्न स्थापना गरिएको सहकारीले हाल १६ वटा सेवा केन्द्रबाट सेवा दिइरहेको छ । सहकारीको कार्य क्षेत्र दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं र ललितपुरको महानगरपालिकाभर रहेको छ ।
मुख्यगरी जनसचेतनले बचत तथा ऋण लगानी नै गर्ने हो । त्यसबाहेक उसले प्रविधिमा आधारित सेवालाई प्राथमिकतामा राख्दै आएको छ । सहकारीले मोबाइल बैंकिङ सेवा, सदस्य सुरक्षा कोष सेवा, मनी ट्रान्सफर, सदस्यहरूलाई शिक्षा तथा तालिम, विद्यार्थीलाई छात्रवृत्ति, सामाजिक संस्कार खर्च, सम्मान तथा पुरस्कार, सदस्य भ्रमण, उपचारमा आर्थिक सहयोग गर्ने गरेको छ ।
सहकारीले खेलकुदका सामग्रीदेखि फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गर्ने तथा हरियाली प्रवर्द्धनका लागि वृक्षरोपणसमेत गर्दै आएको छ । नमुना सहकारीका रूपमा विकास भइरहेको जनसचेतन विभिन्न क्षेत्रबाट पुरस्कृतसमेत भएको छ । एसियाली ऋण महासङ्घबाट एक्सेस ब्रान्डको प्रमाणीकरण पाएको जनसचेतन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट २ लाख नगदसहित सम्मानित भएको थियो ।

बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) बाट जनसचेतन उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रूपमा पुरस्कृत भइसकेको छ । त्यस्तै २०६४ सालमा राष्ट्रिय सहकारी संघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०६३ सालमा डिभिजन सहकारी कार्यालय दोलखाबाट पुरस्कृत र आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट २०७१ सालमा उच्च कर सहभागिताबापत जनसचेतन सम्मानित भएको थियो ।
संस्था आफूमात्र सम्मानित भएको छैन । संस्थाले विभिन्न विधामा सम्मानसमेत प्रदान गर्दै आएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर ऋणीहरूको वर्गीकरण गरेर सचेतनाले असल ऋणीलाई पुरस्कार दिँदै आएको छ । असल बचतकर्तादेखि उद्यमी सदस्यसम्मलाई संस्थाले सम्मान गर्दै आएको छ ।
सदस्यलाई व्यवसायी बनाउँदै
दोलखाकी विमला थापामगरको अहिले परिचय फेरिएको छ । खेतीपातीमार्फत गुजारा चलाउन मुस्किल पर्ने विगु गाउँपालिका- १ गोंगरकी विमला अहिले व्यवसायी बनेकी छन् ।
खेतीपातीबाट उनको परिवारको गुजारा चल्न मुस्किल भइरहेको थियो । उनले गुजाराका लागि नयाँ विकल्प खोज्न थालिन् । उनले होटल चलाउने निधो गरिन्, तर ऋण दिने गाउँमा कोही भेटिएनन् । एक दिन उनी होटल सञ्चालन गर्ने योजना बोकेर जनसचेतन पुगिन् ।
‘मेरो योजना सुनेपछि सहकारीले ऋण दियो । सहकारीबाट ऋण लिएर मैले एउटा पक्की भवन बनाएर होटल व्यवसाय सञ्चालन गरें’, उनले भनिन्, ‘अहिले होटेलबाट दैनिक चार हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छु ।’
विमला उदाहरणमात्रै हुन् । उनी जस्तै अन्य हजारौं सदस्यलाई जनसचेतनले व्यवसायी बनाएको छ । सहकारीले विभिन्न १४ शीर्षकमा ऋण लगानी गर्दै आएको छ ।
कृषि तथा पशुपालनमा समेत ऋण लगानी गरिरहेको संस्थाले सहकारीका सदस्यहरूलाई यस शीर्षकमा ऋण लिएकाहरुलाई प्राविधिकहरूमार्फत सेवासमेत दिँदै आएको छ । यसको लागि संस्थाले पशु तथा कृषि प्राविधिकको व्यवस्था गरेको छ ।
यस वर्ष नै शुरु गरिएको कार्यक्रमबारे जानकारी दिँदै सीईओ दाहालले भने, ‘हामी बचत तथा ऋणको कारोबार गर्ने सहकारी भए पनि सदस्यहरूका लागि पशु तथा कृषि प्राविधिकहरुको पनि व्यवस्था गरेका छौँ । हाम्रा सदस्यहरू जो कृषि तथा पशुपालन व्यवसायमा लागेका छन्, उनीहरूका लागि कृषि प्राविधिकको सेवा दिइरहेका छौँ ।’
सदस्यहरुलाई आयआर्जनमा जोडिएन भने उनीहरूको आम्दानीको स्रोतमा टेवा पुर्याउन सकिएन भने सहकारीको मर्मअनुसार नभएको हो कि भन्ने भान हुन्छ भनेर सदस्यहरूमै केन्द्रित रहेर काम गर्दै आएको सीईओ दाहालको दाबी छ । उनका अनुसार सहकारीले सदस्यहरूको सन्तुष्टिको सर्वेक्षणसमेत गर्दै आएको छ ।
पौने २ अर्ब बचत, डेढ अर्ब लगानी

सहकारीमा बचत रकम पौने दुई अर्ब रुपैयाँ पुगेको सीईओ दाहाल बताउँछन् । माघ मसान्तसम्म आइपुग्दा जनसचेतन सहकारीको १ अर्ब ८५ करोड १ लाख ६९ हजार रुपैयाँ बचत रकम पुगेको छ ।
‘हाम्रोमा बचत गर्नेहरू दिनप्रतिदिन बढ्दो छ । बचत बढेकाले हामी नयाँ रणनीतिअनुसार अगाडि बढिरहेका छौँ’, सीईओ दाहालले भने ।
सहकारीको शेयर पुँजी १५ करोड ८४ लाख ५४ हजार रुपैयाँ पुगेको छ । शेयर सदस्य सङ्ख्या २७ हजार ७९९ रहेको छ । १८ करोड २३ लाख ८९ हजार संस्थागत पुँजी रहेको सहकारीको जगेडा कोषमा १७ करोड ९९ लाख ६४ हजार रुपैयाँ रहेको सीईओ दाहालले बताए । अन्य विभिन्न कोषहरूमा १२ करोड ४० लाख ६६ हजार रुपैयाँ जम्मा छ ।
जनसचेतनसँग पर्याप्त तरलतासमेत रहेको छ । माघ मसान्तसम्मको वित्तीय विवरण हेर्दा सहकारीमा ५१ करोड ८७ लाख ३९ हजार रुपैयाँ तरलताको रकम देखिन्छ । लगानीमा रहेको रकम एक अर्ब ६६ करोड ७१ लाख १९ हजार रुपैयाँ रहेको छ ।
पर्याप्त तरलता भए पनि सूक्ष्म अध्ययन गरेरमात्रै लगानी गरिरहेको सीईओ दाहालले जानकारी दिए । उनले भने, ‘हामीसँग अहिले पर्याप्त तरलता छ । तरलता छ भन्दैमा हामीले जथाभावी लगानी गरेका छैनौँ । लगानी गर्नु अगाडि सम्पूर्ण अध्ययन गर्छौँ । सूक्ष्म अध्ययनपछि मात्रै लगानी गरिरहेका छौँ ।’
नोटः केही वर्षयतादेखि सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सडकदेखि सदनसम्म सहकारी क्षेत्र चर्चामा छ । सहकारीविरुद्ध सडक आन्दोलनदेखि अब चाहिँदैन भन्दै विरोधसम्म भइरहेको छ । समुदायसँग जोडिएको सहकारीका केही बदमासीका कारण यस क्षेत्रको सबल पक्ष ओझेलमा परेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले समुदायका बीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको श्रृङ्खला प्रस्तुत गरेको हो ।

Leave a Reply