पाल्हीनन्दनका अध्यक्ष गुप्ता लागुऔषध कारोबारमा दोषी ठहर

रूपन्देही । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुईजनालाई कसुरदार ठहराएको हो ।

कसुर ठहर हुने अर्का व्यक्ति गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबी हुन्, जो २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । ती दुई भारतीय नागरिक हुन् । यस्तै, पाल्हीनन्दन गाउँपालिका-३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् ।

अध्यक्ष गुप्तासहित धोबीलाई कसुर ठहर भए पनि सजाय निर्धारणको लागि फागुन २९ गते पेशी तोकिएको छ । लागुऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ । तर, अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत आधा सजाय पाउने भएका छन् ।

अध्यक्ष गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

यस्तो छ घटनाको विवरण

२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जीतेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो । गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो ।

बरामद भएको लागुऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ । उक्त घटनालाई लिएर तत्कालीन एसपी ऋषिराम कँडेलको सरुवा समेत भएको थियो ।

अध्यक्ष गुप्ताको कवाड व्यवसायसमेत रहेको छ । जितेन्द्र र रामा बिहारका बासिन्दा हुन् र सुनवल नगरपालिकामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । करिब एक करोड ३५ लाख रूपैयाँ बराबरको लेनदेन विवादकै कारण गुप्ताले उनीहरूलाई फसाउन खोजेको आरोपसमेत लागेको छ ।

अभियोगमा रामा र जितेन्द्रले लागुऔषध सञ्चित तथा ओसारपसारमा संलग्न रहेको भन्दै समूहमा कारोबार गरेको ठहर गरिएको छ । कसैबाट लागुऔषध बरामद नभए पनि अध्यक्ष गुप्ता अप्रत्यक्ष संलग्न रहेको भन्दै दोषी ठहर गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *