काठमाडौं । गायिका एलिना चौहानका आफ्नो प्रेम जीवनका उतारचढावहरुलाई गीतमार्फत अभिव्यक्त गर्न माहिर छिन् । यसका दुईवटा फाइदा हुन्छन् । पहिलो त आफ्नो मनोदशालाई सबैसामु उजागर गर्न पाइयो । दोस्रो गीतलाई चर्चामा ल्याउन सजिलो भयो ।
तत्कालीन प्रेमी विष्णु सापकोटासँग ब्रेकअपको चर्चाका बीच एलिनाको ‘मलाई धोका दियौ भने कट्टा हान्दिन्छु’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत तत्कालै सुपरहिट भयो । अहिलेसम्म यो गीतलाई ४ करोडभन्दा बढी भ्युज बटुलेको छ ।
विवाहको केही समयपछि नै श्रीमान विष्णुसँग एलिनाको सम्बन्ध बिग्रियो । उनी नेपाल आइन् । त्यसपछि रेकर्ड गराइन्, ‘चल्दैन मनमर्जी’ बोलको गीत । यो गीत उनले आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेकी थिइन् ।
शब्दहरुमा श्रीमानबाट धोका पाएकी श्रीमतीको कथा पोखिएको छ । एलिनाले यो गीतका विभिन्न टुक्रामा डेढ दर्जन टिकटक भिडिओ बनाएकी थिइन् । यद्यपि, गीत सोचेजस्तो चलेन ।
अहिले विष्णु र एलिनाको डिभोर्स भइसकेको छ । डिभोर्सको भोलिपल्टै एलिनाको नयाँ गीत रिलिज भयो, जसको बोल थियो– एक्लै पनि जिन्दगी चल्दो रहेछ । सम्भवतः उनले डिभोर्सपछि रिलिज गर्न भनेर पहिल्यै यो गीत तयार गरेकी थिइन् । यो गीत पनि एलिनाको आफ्नै च्यानलमा अपलोड भएको छ ।
अहिले एलिनाको नयाँ गीत आएको छ, जसको बोल छ- छुट्यो पिरिम । यसको लिरिक्स शब्दहरु सिधै एलिनाका श्रीमान बिष्णुप्रति लक्ष्यित रहेको भनेर धेरैले कमेन्ट गरिरहेका छन् ।
गीतका केही शब्द यस्ता छन्:
छुट्यो पिरिम मेरो छुट्यो पिरिम
तेरै कारण बन्धनमा थिएँ म, अब फिरी म
नला बाबु मसँग नोटको धाक
चोटको बदला चोटै हो बुझिराख्
जहाँ कदर हुन्न त्यहाँ रहन्न
यो छोरीले अन्याय सहन्न
बनकी चरी खुशी छे बनैमा
तेरा लागि ठाउँ छैन मनैमा
लैजा तैंले दिएका सबै चिज
अब नाता सकियो हामीबीच
हामी हिँड्ने बाटो नै अलग भो
तँलाई अब फेसबुकमा बलक भो
स्मरणीय रहोस कि उल्लेखित कुनै पनि गीतहरु एलिना आफैंले लेखेकी भने होइनन् । रचनाकारले लेखेको गीत उनले गाएकी मात्र हुन् । त्यसो भए कसरी उनको जीवनसँग सम्बन्धित हुन सक्छ भन्ने प्रश्न पनि उठ्ला । तर गायक–गायिकाले चाहेजस्तो गीत लेखिदिने गीतकारहरुको कमि कहाँ छ र बजारमा ?
हुन त एलिनाले डिभोर्सपछि आफ्नो एउटा भिडिओ बनाएर आफ्नो श्रीमानलाई कसैले पनि गाली नगर्न अपिल गरेकी थिइन् । तर, आफैं यस्ता गीतहरु चाहीँ किन गाइरहेकी होलिन् ?

Leave a Reply